तुलसीपुर, ३० भदौ ।
तुलसीपुरमा आउँदो शनिबारदेखि हाटबजार संचालन हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको तरकारी बजार परिसरमा साताको एक दिन शनिबार तरकारी बजार संचालनमा आउने भएको हो ।
स्थानीय कृषि तथा पशुपंक्षिजन्य उत्पादनलाई बजारीकरण गर्नका लागि हाटबजार संचालनमा आउन लागेको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को पहलमा हाटबजार संचालनमा आउने भएको हो ।
बजारमा छरिएर बिक्रि वितरण हुने कृषिजन्य वस्तुको बजार एकिकरणका लागि आउँदो शनिबारदेखि हाटबजार संचालनमा ल्याउन लागेको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष वर्षात भण्डारीले जानकारी दिनुभयो । ‘कृषि उत्पादनको सहजरुपमा बजारीकरणका लागि हाम्रो पहलमा तुलसीपुरको तरकारी बजारमा हाटबजार संचालनमा ल्याउन लागेका छौँ ।’ उहाँले भन्नुभयो-‘हाटबजार संचालन भएपछि बजारमा कृषिजन्यवस्तुको जथाभावी हुने बिक्रिवितरणलाई रोक्न पनि सकिन्छ ।’
उहाँले स्थानीयस्तरमा उत्पादन हुने कृषिजन्यवस्तु हाटबजारमा बिक्रिवितरण गर्नका लागि किसानलाई आग्रह समेत गर्नुभयो । ‘तरकारी बजारमा प्रत्येक शनिबार बजारमा हाटबजार लाग्दैछ ।’ उहाँले भन्नुभयो-‘हाटबजारमा कृषि उत्पादन ल्याउन म किसानलाई आग्रह गर्दछु ।’
तुलसीपुर बजारमा तरकारी बजारलाई व्यवस्थित गराउन उपमहानगरपालिकाले निर्माण गरेको ट्रस्टमा तरकारी बजार संचालन हुने भएको हो । तरकारी बजारमा कोरोना महामारी अघि पनि दैनिकरुपमा किसानले तरकारी बिक्रि गर्ने गरेका थिए । तर कोरोना महामारीसंगै तरकारी बजारमा किसानले तरकारी बिक्रि गर्न छोडेको फलफूल तथा तरकारी बजार व्यवस्थापन समिति तुलसीपुरका अध्यक्ष माधव घिमिरेले बताउनुभयो ।
‘तुलसीपुरमा व्यवस्थितरुपमा कृषि उत्पादन बिक्रि वितरण गर्ने भनेर तरकारी बजार बनेपनि अहिलेसम्म तरकारीको बिक्रिवितरण व्यवस्थित बन्न सकेको छैन् ।’ उहाँले भन्नुभयो ‘बजारका ठाउँ-ठाउँमा तरकारी तथा फलफूल बिक्रि वितरण हुँदा तरकारी बजारमा सटरमा व्यवसाय गर्ने व्यवसायी समस्यामा परेका छन् ।’
तुलसीपुर बजारको तरकारी बजारलाई व्यवस्थित गर्न उपमहानगरपालिकाले तीन वर्षअघि तरकारी बजार संचालनमा ल्याएको छ । तर तरकारी बजारमा अहिले होलसेलबाहेक अन्य व्यापार हुन नसकेको छैन् । बजारमा मनपरीरुपमा तकारीको व्यापार व्यवसाय हुँदा तरकारी बजार सुनासान बनेको हो ।
तरकारी बजारबाट थोकरुपमा दाङसहित देशका विभिन्न सहरमा तरकारी जाने गरेको छ । तर स्थानीयस्तरमा तरकारी बिक्रि वितरण हुन नसकेको तरकारी तथा फलफूल व्यवसायी समितिका सचिव सुरेश कुमार गुप्ताले बताउनुभयो ।
नगरउपप्रमुख स्यानी चौधरीले हाटबजारले किसानलाई तरकारी बिक्रिमा सहजता ल्याउने बताउनुभयो । ‘शुरुका १५ दिनमा किसानलाई ट्रष्टमा निशुल्क बिक्रि वितरण गर्ने वातावरण हुनुपर्छ ।’-उहाँले भन्नुभयो । तुलसीपुर उपमहानगरपालिका आर्थिक विकास समितिका संयोजक तथा प्रवक्ता माधव वलीले किसानलाई तरकारी बजारसंग जोड्नका लागि हाटबजारले महत्वपूणर् भूमिका खेल्ने बताउभयो । ‘आर्थिक विकासको आधार भनेको नै कृषि हो, तर यसको सहिरुपमा बजारीकरण हुन सकिरहेको छैन् ।’ उहाँले भन्नुभयो-‘बजारीकरणलाई थप सहयोग पुर्याउन र फुटपाथमा हुने बिक्रि वितरणलाई रोक्न हाटबजार संचालन हुनेछ ।’