दाङ, १५ भदौ ।
दाङमा तीजकै दिन राती नाचगान गरिरहेको समयमा चट्याङ लागेर दुई जना युवतीको मृत्यु भएको छ भने अन्य ११ जना घाइते छन् । घाइतेमध्ये दुई जना गम्भिर रहेको प्रहरीले जनाएको छ ।
घोराही उपमहानगरपालिका १२ गुरौँ गाउँमा मंगलबार बेलुकी परेको चट्याङबाट सोहि ठाउँका १६ वर्षिय दिपा घर्ती र १९ वर्षिय मोनिषा शाहको घटनास्थमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजनकुमार गौतमले घटनास्थलमा प्रहरी अझै पुग्न नसकेको र विस्तृत विवरण आउन बाँकी रहेको बताउनुभयो ।
‘प्रहरी घटनास्थलतर्फ जाँदै गरेको अवस्थामा बाटोमा एक महिलाले दिएको जानकारी अनुसार मृतकको नाम पहिचान भएको छ ।’ उहाँले भन्नुभयो-‘प्रहरी घटनास्थलमा पुगेपछिमात्रै थप विवरण प्राप्त गर्न सकिन्छ ।’
स्थानीयका अनुसार थप दुई जना गम्भिर घाइते भएको र उनिहरुलाई अस्पताल ल्याउँदै गरेको डिएसपी गौतमले बताउनुभयो ।
डिएसपी गौतमले गाउँकै सालडाँडा भन्ने स्थानमा गएराती तीजको नाचगान चलिरहेको समयमा करिब ११ देखि १२ बजेको समयमा चट्याङ लागेको बताउनुभयो ।
‘अहिलेसम्म करिब १३ जनालाई चट्याङ लागेको र दुई जनाको घटनास्थलमै निधन भएको खबर आएको छ, थप दुई जना गम्भिर घाइते भएका छन् ।’ उहाँले भन्नुभयो-‘रोल्पाको होलेरी संग जोडिएको गुरौँ गाउँमा सडकबाट हिडेर करिब ४ घण्टामा पुग्न सकिने खबर आएको छ ।’
प्रहरीलाई घटनास्थलमा पुग्न अझै पौने घण्टा लाग्ने उहाँले बताउनुभयो ।