२०८० फाल्गुन २२ गते मङ्गलवार

राप्ती प्रादेशिक अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो


तुलसीपुर, ८ भदौ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले सेवा सुधार गरेको संकेत देखिएको छ । प्रादेशिक अस्पतालले ६ महिना अघिको तुलनामा अहिले १३ प्रतिशत बढीले सेवा सुधार गरेको हो । अस्पतालको अनुगमन मूल्यांकनपछि गत वर्ष फागुनको तुलनामा १३ प्रतिशत थप सेवा सुधार गरेर अहिले ८४ प्रतिशतमा पुगेको प्रगति विवरण सार्वजनिक भएको छ ।

गतवर्ष फागुन २६ को तथ्यांक अनुसार अस्पतालको सेवा ७१ प्रतिशत रहेकोमा अहिले थप १३ प्रतिशत सुधार भएको हो । अस्पतालले प्रसुति सेवा, दन्त सेवा, औषधि विभाग, शल्य चिकित्सा, बाल चिकित्साको व्यवस्था गरेको प्रगति विवरण सार्वजनिक गरिएको छ ।

यस्तै फोहोरको सहि व्यवस्थापन गरेको, प्रमुख क्षेत्रमा सिसिटीभिको व्यवस्था गरेको, २४ सैँ घण्टा सुरक्षाकर्मी रहेको लगायतका सेवा सुधार गरेको प्रगतिमा उल्लेख छ । यस्तै सामजिक सेवा इकाईमार्फत सेवा प्रदान गरिएको, अस्पतालको आफ्नै क्यान्टीनको व्यवस्था भएको प्रगति विवरणमा उल्लेख छ ।

दाङसहित साविक राप्तीको सल्यान, रुकुम, रोल्पा, प्युठान लगायतका बिरामीलाई सेवा प्रदान गर्दै आएको अस्पतालले सेवा सुधार गरेको पछिल्लो प्रतिवेदनले देखाएको हो । राप्ती प्रादेशिक अस्पताल लुम्बिनी प्रदेशमै तेस्रो भएको छ ।

प्रदेशमा कपिलवस्तु अस्पताल ८७ अंक प्राप्त गरी प्रथम, बर्दिया अस्पताल र गुल्मी अस्पतालले ८६ अंक प्राप्त गरेर दोस्रो भएका छन् । प्रदेशमा सबैभन्दा कम रुकुम पूर्व अस्पतालले २५ अंक प्राप्त गरेको छ । अस्पतालले न्युनतम सेवा मापदण्ड कार्यान्वयन गरेको आधारमा अंक प्रदान गरिएको भेरी अस्पतालका वरिष्ठ नर्सिङ प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठले बताउनुभयो ।

प्रदेशको संरचनापछि २०७५ साल पुसमा अञ्चलबाट प्रादेशिक अस्पताल घोषणा गरिएपछि सेवा सुधारमा सन्तोषजनक देखिएको अनुगमन तथा प्रगति विवरणमा उल्लेख छ । १४० शैयाको अस्पतालमा अझै सेवा सुधार गर्नुपर्ने सरोकारवालाले सुझाव दिएका छन् । अस्पतालको भौतिक संरचना निर्माणमा ढिलाई भएको, आइसियु सेवा सुधार नभएको, डाक्टरले अस्पतालमा डिउटी समय पुरा दिनुपर्ने लगायतका सुझाव सरोकारवालाको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस