
दाङ, ६ भदौ ।
दाङको बिजौरीस्थीत प्रादेशिक आयुर्वेद चिकित्सालयमा जुकालाई टोकाएर रगत चुसाउंदै उपचार गर्ने प्रविधि सुरु भएको छ । चिकित्सालयमा करिब डेढ महिना अघि जलौका कर्म अर्थात जुकालाई टोकाएर रगत चुसाएर उपचार शुरु गरेपछि गरेपछि अहिले ४० जना भन्दा बढिले यो सेवा पाइसकेको उपचारमा संलग्न चिकित्सक डा मदन भण्डारीले बताउनुभयो ।
जलौका कर्म अर्थात जुकालाई टोकाएर रगत चुसाएर उपचार भएपछि धेरै पुराना इन्फ्याक्सन सहितका घाउहरु निको भएको उहाँले बताउनुभयो । लामो समयको घाउ, छालाका विभिन्न दिर्घ समस्या, डण्डिफोर, शोरीयाशिस, रक्तनली अवरोध हुने समस्या लगायतका रोगहरुमा जलौका विधिबाट उपचार संभव हुने पनि उहाँको भनाई छ ।
उहाँका अनुसार यो फरक प्रजातिको जुका हो । जसले शरीरमा कुनै खराव गर्दैन, शरीरमा भएको खराव रगत मात्रै आफुले चुसिदिन्छ र रोग निको हुन सहयोग पुर्याउछ । भारतबाट काठमाण्डौ हुंदै यहां ल्याइएको यो जुका हिरुडो मेडिसाइनल्स प्रजातिको हो । एक जना विरामीको उपचारकालागी कम्तिमा ३ देखि ५ वटा सम्म जुकाले टोकाइन्छ ।
अवस्था हेरेर हरेक ५ दिनमा यो प्रक्रिया दोहोर्याउन सकिने पनि ति चिकित्सकले बताएका छन् । अहिले यो प्रविधिबाट उपचार गराउन चिकित्सालयले ५५ वटा जुका ल्याएर पालेको छ ।
लेउ खुवाएर जुकालाई पालिंदै आएको अस्पतालले जनाएको छ । विरामीको अवस्था, आवस्यकता हेरेर जुकाको संख्या पनि बढाउंदै लैजाने अस्पतालका निमित्त निर्देशक डा सन्तोष ठाकुरले बताउनुभयो । एउटा जुकाको मुल्य तीन सय रुपैया पर्ने पनि अस्पतालले जनाएको छ । तर विरामीलाई आवस्यकता अनुसार एक सय रुपैया शुल्क सम्म लिइने गरिएको छ । तर अस्पतालमै भर्ना भएका विरामी तथा न्युन आय भएका विरामीहरुलाइ निशुल्क रुपमा पनि यो सेवा दिइने अस्पतालले जनाएको छ ।
प्रादेशिक आयुर्वेद चिकित्सालयमा जलौका अर्थात् लिच थेरापीबाट उपचार सेवा दिन शुरु गरेपछि अहिले बिरामीहरू सेवा लिन आउने क्रम पनि बढेको छ । अस्पतालका अनुसार पहिला छिटफुट रूपमा हुँदै आए पनि पछिल्लो डेढ महिनादेखि नियमित रूपमा शुरु भएको हो ।
डा. भण्डारीका अनुसार शुरुमा जुकाको टोकाइबाट उपचार गराउँदा बिरामीहरू डराउने भए पनि पछि ठिक भएपछि उनीहरूले नै अरू बिरामीहरू ल्याएर आउने गर्दछन् ।