२०८१ मङ्सिर २२ गते शनिवार

टरिगाउँ विमानस्थलको लागि अपर्याप्त बजेट प्राप्त


तुलसीपुर, २३ साउन ।
दाङको टरिगाउँ एयरपोर्टका लागि करिब दुई करोड बजेट आएको छ । नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षका लागि एक करोड ९४ लाख बजेट बिनियोजन गरेको हो ।

विमानस्थल सुदृढीकरण तथा विस्तारका लागि भनेर चालुवर्षमा बजेट बिनियोजन गरिएको हो । टरिगाउँ एयरपोर्ट धावन मार्ग विस्तार अहिलेको आबश्यकता बनेको छ । तर, त्यसकालागि यो बजेट अप्रयाप्त भएको भन्दै आलोचना गरिएको छ ।

टरिगाउँ विमानस्थलका लागि २० करोड भन्दा बढि बजेट चाहिने भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने यस क्षेत्रका सरोकारवालाले बताउने गरेका छन् । एयरपोर्टमा अहिले १९ सिटे टुइनेटर मात्रै अवतरण गर्न सक्छ ।

७५० मिटर लम्बाइ र ३० मिटर चौडाई रहेको धावन मार्ग रहेको भन्दै त्यसलाई बढाएर ठूला जहाज बसाउन आबश्यक रहेको छ । २०११ सालमा सञ्चालनमा आएको उक्त एयरपोर्टमा अहिले इन्धन डिपो सञ्चालनकालागि तयारी अन्तिम चरणमा पुगेको छ ।

यसैबिच टरिगाउँ एयरपोर्टमा उडान घटाईएको छ । अहिले हप्तामा तीन दिन मात्रै उडान हुने गरेको छ । नेपाल बायु सेवा निगमका दाङ स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार जहाज विग्रिएर ‘ग्राउन्डेड’ भएपछि हाल बुधबार, विहीबार र शुक्रबार मात्रै जहाज उडान हुने गरेको छ ।

यस अघि दैनिक हवाई सेवा थियो । टरिगाउँ विमानस्थलबाट सरदर १०÷१२ जना यात्रुहरु आवतजावत गर्ने गरेका छन् । अहिले दाङ – काठमाडौं हवाई भाडा न्यूनतम भाडा ८ हजार ८ सय १० छ भने अधिकतम १२ हजार ६ सय ६५ रहेको छ ।

प्रकाशित मिति : २०७९ साउन २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस