
दाङ, २० साउन ।
मतदाता नामावली सङ्कलन आजदेखि स्थगित भएको छ । सरकारले प्रदेश र सङ्घको निर्वाचनको मिति घोषणा गरे लगतै निर्वाचन आयोगले आजदेखि मतदाता नामावली सङ्कलनको काम स्थगित हुने बताएको हो ।
साथै अनलाइन आवेदन दिएकाहरूले भोलि २१ गतेसम्म औठा छाप र फोटो खिचाउन पाउने पनि आयोगले प्रष्ट पारेको छ । आयोगले असार १ गतेदेखि प्रदेश र सङ्घको निर्वाचनका लागि मतदाता नामावली सङ्कलनको काम सुरु गरेको थियो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको मिति कम्तिमा १ सय २० दिन अगाडी घोषणा हुनुपर्नेमा १ सय ७ दिन मात्रै बाँकी भएपनि निर्वाचन गराउन आयोग तयारी अवस्थामा रहेको बताउनुभयो ।
उहाँले आवश्यकता अनुसार चाँडै नै दल दर्ताको प्रक्रिया सुरु हुने पनि बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अशोजमा उम्मेदवारी दर्ताको लागि मिति तोक्ने गरी निर्वाचन कार्यतालिका तयार पारिने भन्दै निर्वाचनलाई सफल र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन आयोग तयारीमा जुटेको बताउनुभयो ।
उहाँले पत्रकारलाई सूचना सङ्कलनका लागि समस्या नहोस् भनेर छुट्टै प्रेस कार्यालयको स्थापना गरिने पनि उल्लेख गर्नुभयो ।