दाङ, १६ साउन ।
दाङको टरिगाउँ विमानस्थलको बाउजर अब अन्यत्र नलगिने भएको छ । सरोकारवालाको विरोधपछि विमानस्थलको बाउजर अन्यत्र लैजाने काम तत्कालका लागि स्थगित गरिएको हो ।
इन्धन डिपो संचालनको काम अन्तिम चरणमा पुगेको समयमा बाउजर अन्यत्र लैजाने तयारी गरिएपछि सरोकारवाला स्थानीय सरकार, व्यवसायी, जनप्रतिनिधि लगायतले बिरोध जनाएका थिए । बाउजरलाई अहिले तत्काल अन्यत्र नलगिने नेपाल आयल निगमले जनाएको छ ।
यद्यपी केन्द्रको निणर्य आउन बाँकी रहेको नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका प्रमुख विपिन श्रेष्ठले बताउनुभयो । उहाँले अहिले तत्कालका लागि टरिगाउँ बिमानस्थलमा रहेको बाउजर अन्यत्र नलैजाने दावि गर्नुभयो । उहाँले बाउजर फिर्ता नभई रिप्लेस गर्न लागिएको भएपनि सरोकारवालाको विरोधपछि बाउजर अन्यत्र नलगिने बताउनुभयो ।
दाङमा ३ देखि ४ सय लिटर मात्रै ईन्धन बिक्रि हुने भएकाले केन्द्रले मासिक रुपमा दाङमा ईन्धन पठाउने गरेर अहिलेको बाउजर लैजाने गरेको थियो । टरिगाउँमा विमानस्थलमा ११ हजार लिटर ईन्धन अट्ने बाउजर रहेको छ ।
विमानस्थलमा इन्धन करिब ३० हजार लिटर अट्ने इन्धन ट्यांक स्थापना गरिएको छ । अहिले ट्यांकमा इन्धन राख्नका लागि नमुना परिक्षण भारतमा पठाइएको छ । परिक्षणको रिर्पोट आउनेबित्तिकै इन्धन डिपो संचालनमा ल्याइने प्रमुख श्रेष्ठले बताउनुभयो ।