२०८१ असोज ४ गते शुक्रवार

दाङका चार ठाउँबाट मतदाता नामावली संकलन : एक महिनामा ६ हजार बढि मतदाता थप

दाङ, ६ साउन ।
दाङमा एक महिनाको अबधीमा साढे ६ हजार जनाले फोटो सहितको नामावलीमा नाम दर्ता गराएका छन् । असार १ गतेबाट सुरु भएको नामावली संकलनमा असार मसान्त सम्म ६ हजार ४ सय ८९ जनाले नाम दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो ।

निर्वाचनको मिति घोषणा भएपछि सबै काम रोकिने भएकाले अहिले नै नाम दर्ता, ठाउँसारी, लगत कट्टा लगाएतका कामहरु गर्न आग्रह गर्नुभएको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा दाङमा ४ लाख ९ हजार ९ सय मतदाता रहेका थिए । जसका लागि ४ सय ६१ मतदान केन्द्र तोकिएको थियो ।

अब हुने प्रतिनिधीसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा मतदान केन्द्रको परिमार्जनका बिषयमा छलफल शुरु भएको छ । मतदाता संख्याको आधारमा मतदान केन्द्रहरु थप गर्नुपर्ने, भवन र भुगोल व्यस्थित नभएको ठाउँबाट नजिकै अन्य भवनमा सार्ने बिषयमा छलफल र टिपोट भएको छ ।

अब हुने संघ र प्रदेशको निर्वाचनका लागि मतदान केन्द्र र स्थलको टुंगो लगाउनका लागि सबै सरोकारवालाहरु सँग परामर्श सुरु गरिएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङका शाखा अधिकृत रेवत बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीय तहका प्रमुख उपप्रमुख र राजनीतिक दलका प्रतिनिधीहरुले मतदान केन्द्रको आबस्यकता र पायक पर्ने तथा सुबिधा युक्त स्थानमा सार्ने बिषयमा समितिलाई सुझाबहरु दिएका छन् ।

मतदाता संख्या बढेको स्थानमा मतदान केन्द्र स्थापना गर्ने, पायक नपरेका केन्द्रलाई सार्ने विषयमा पालिकाका प्रतिनिधीहरुले सुझाब दिएका छन् । कार्यालयका सूचना अधिकारी कुँवरले अहिले घोराहीको निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, लमही र तुलसीपुर इलाका प्रशासन कार्यालयबाट फोटो सहितको मतदाता नामावली संकलनको काम भैरहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस