२०८१ मङ्सिर २२ गते शनिवार

राप्ती र लुम्बनी प्रादेशिक अस्पतालमा आज देखि टिकट र बेड निःशुल्क


दाङ, १ साउन ।
दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल र रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा आजदेखि आकस्मिक र बहिरंग सेवाको टिकट तथा शैयावापत शुल्क नलाग्ने भएको छ ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बिरामीलई ओपिडी र इमर्जेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेको थियो ।

सोही घोषणा आजदेखि कार्यान्वयन हुन लागेको हो । ओपिडी र बेड निःशुल्क गर्न प्रदेश सरकारले बजेटमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । टिकट शुल्क नलाग्ने भएपनि बिरामीहरुले टिकट काउन्टरबाट टिकट भने लिनुपर्ने राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विनोद सिंहले बताउनुभयो ।

यस्तै साउन १ गतेदेखि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीहरुका लागि अब रगत पनि निःशुल्क हुने भएको छ । तर राप्ती प्रादेशिक अस्पालमा यसअघि नै रगत निशुल्क रहेको मेसु सिंहले बताउनुभयो । सरकारले रगत निशुल्क गर्नका लागि ३ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

प्रकाशित मिति : २०७९ साउन १ गते आइतवार
प्रतिक्रिया दिनुहोस