दाङ, २५ असार ।
दाङको लमहीमा चार्जिङ स्टेशन जडान हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको चार्जिङ स्टेशन जडानको योजनाअन्तर्गत लमही क्षेत्रमा पनि चार्जिङ स्टेशन जडान गर्न लागेको हो । प्राधिकरण आफैले अबको केही दिनमा लमहीमा चार्जिङ स्टेशन जडान गर्ने भएको हो ।
पेट्रोलियम पदार्थको मुल्यवृद्धिलाई ध्यानमा राख्दै विद्युत प्राधिकरणले चार्जिङ स्टेशन जडान गर्न लागेको जनाएको छ । विद्युतीय गाडीहरूको प्रयोगमा बढवा दिन प्राधिरणले चार्जिङ स्टेशन जडान गर्न लागेको हो । लमहीसहित देशभरका ५१ वटा स्थानमा चार्जिङ जडान गर्न लागिएको प्राधिकरणको चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजनाका प्रमुख सागर ज्ञवालीले जानकारी दिनुभयो ।
इन्धनको मूल्यबृद्धि र वातावरणीय प्रदूषणलाई मध्यनजर गर्दै प्राधिकरणले विद्युतीय गाडीहरूलाई बढवा दिन लागेको आयोजनाका प्रमुख ज्ञवालीले बताए । आयोजना प्रमुख ज्ञवालीका अनुसार प्राधिकरणले ३७ करोडको लागतमा चार्जिङ स्टेशन जडान गर्न लागेको हो । लमहीसँगै कोहलपुर, लम्की, अत्तरिया, बुटवल, भैरहवा गरी ५१ वटा स्थानमा दशैँसम्ममा स्टेशन जडान गरिसक्ने उहाँले जानकारी दिनुभयो ।
चार्जिङ स्टेशन जडानका लागि चीनको वाङडेङ डिजिटल इनर्जीले ठेक्का पाएको छ । राजमार्ग र तथा मुख्य सहरहरूमा चार्जिङ स्टेशन जडान भएसँगै विद्युतीय गाडीहरूलाई ब्याट्री चार्जमा सहजता हुने उहाँले बताउनुभयो । उनका अनुसार एउटा चार्जिङ स्टेशन जडान गर्दा ८० लाखसम्म लागत लाग्ने गर्दछ ।
प्राधिकरणले विभिन्न स्थानमा राख्न लागेको चार्जिङ स्टेसनका लागि आवश्यक उपकरणहरू नेपाल आइपुगेको छ । प्राधिकरणको चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजनाका आयोजना प्रमुख ज्ञवालीका अनुसार चार्जिङ स्टेशनका लागि पहिलो चरणमा राखिने ५१ मध्ये २६ वटा चार्जर नेपाल आइपुगेको हो । चार्जिङ स्टेसनका लागि आवश्यक ट्रान्सफर्मरहरूको अहिले परीक्षण चलिरहेको उहाँले जानकारी दिनुभयो ।
प्राधिरकणले देशभरका राजमार्ग र मुख्य सहरका बसपार्क, सार्वजनिक जग्गालगायतका स्थानमा चार्जिङ स्टेसन जडान गर्न लागेको हो । चार्जिङ स्टेसन जडान भइसकेपछि प्राधिरकणले ६३ स्थानमा चार्जिङ स्टेसन नेटवर्क निर्माण गर्ने भएको छ ।