दाङ, २२ असार ।
निर्वाचन आयोगले सङ्घ र प्रदेशको चुनाव आउँदो मङ्सिर २ गते गर्न प्रधानमन्त्रीसँग प्रस्ताव गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलियासहितको आयोगको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मङ्सिर २ गते एकै चरणमा सङ्घ र प्रदेशको चुनाव गर्न प्रस्ताव गरेको हो ।
आयोगले जटिल मानिएको पालिका चुनाव एकै चरणमा सफलतापूर्वक सम्पन्न भइसकेको अवस्थामा सङ्घ र प्रदेश सभाको चुनाव पनि एकै चरणमा गर्न सकिने बताएको छ ।
जवाफमा प्रधानमन्त्री देउवाले मङ्सिर २ गतेको मिति केही तलमाथि हुन सक्ने तर सरकारले अवधि तलमाथि नपर्ने गरी चाँडै मिति घोषणा गर्ने बताउनुभएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिनुभयो ।
एक सय २० दिनकै अवधि राखेर सरकारले मिति घोषणा गर्ने भन्दै प्रधानमन्त्री देउवाले आयोगलाई आफ्ना नियमित काम जारी राख्न सुझाव दिनुभएको हो ।
प्रकाशित मिति : २०७९ असार २२ गते बुधवार