
घोराही,२१ असार ।
घोराही उपमहानगरपालिकाले दाङ जिल्ला तेक्वान्दो संघलाई खेल अभ्यासका लागि खेल सामग्री हस्तान्तरण गरेको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षता तथा दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विष्णु अधिकारीको प्रमुख आतिथ्यतामा आज कार्यक्रम गरि खेल अभ्यासका लागि म्याट हस्तान्तरण गरिएको हो ।
प्रमुख अतिथि अधिकारीले जिल्ला खेलकुदमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको बेला स्थानीय सरकारको खेलकुद प्रवर्द्धनका लागि साथ सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
कार्यक्रममा नगरप्रमुख चौधरीले घोराहीलाई खेल पर्यटनका रुपमा विकास गर्न पालिकाले चाहेको बताउनुभयो । उहाँले स्थानीय सरकारले काम गर्न थालेयता घोराहीमा थुप्रै खेल पूर्वाधार विकासको काम भएको र केही स्थानमा जारी रहेकाले स्वस्थ्य नागरिक उत्पादन गर्नेदेखि खेलकुद प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो ।
घोराही उपमहानगरपालिकाले ३ लाखको लागतमा सय थान म्याट उपलब्ध गराएको छ । दाङ जिल्ला तेक्वान्दो संघमा पहिलो पटक यसरी खेल सामग्री हस्तान्तरण गरिएको हो ।
दाङ जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष तिलक झाक्री, प्रशिक्षकहरु राकेश परियार, विरुभाई बज्राचार्य, तेजबहादुर परियारलगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको हो ।