२०८१ असोज ४ गते शुक्रवार

दाङमा रगतको माग सहज

दाङ, २२ असार ।
दाङमा रगतको माग सहज बन्दै गएको छ । जिल्लामा पछिल्लो समय रक्तदाता बढ्दै गएपछि रगतको आपुर्तिमा सहजता आएको हो । मासिकरुपमा जिल्लामा बिरामीका लागि ४ सयदेखि ४५० युनिटसम्म रगतको माग हुने गरेकोमा सोहि अनुसारको रगत आपुर्ती भइरहेको रक्तसंचार केन्द्र दाङका प्रमुख दिलीप न्यौपानले बताउनुभयो ।

‘जिल्लामा संस्थागतरुपमा रगत दान गर्नेहरुको संख्या बढेको छ ।’ उहाँले भन्नुभयो-‘रक्तदाता बढेपछि अहिले जिल्लामा माग अनुसार रगतको माग धान्न सकिएको छ ।’ प्रमुख न्यौपानेका अनुसार जिल्लामा दैनिकरुपमा करिब १ सय जनाले संस्थागतरुपमा रक्तदान गर्ने गरेका छन् ।

‘व्यक्तिगतरुपमा भन्दा संस्थागतरुपमा रगत दान गर्नेहरु बढेका छन् ।’ उहाँले भन्नुभयो -‘सरदर अनुपातमा एकसय जनाले रगतदान गर्दा माग अनुसार र आपुर्ति पनि सहज भएको छ ।’ यसअघि निर्वाचनको समयमा रगतको अभाव रहेकोमा पछिल्लो समय रगतको माग सहज बनेको हो ।

जिल्लामा घोराहीसहित रक्त संचार केन्द्र तुलसीपुर र लमही केन्द्रबाट रगत संकलन हुने गरेको छ । तीन वटै केन्द्रमा माग अनुसारको रगत आपुर्ति हुने गरेको केन्द्र प्रमुख न्यौपानले बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो समय दैनिक २/३ वटा संघसंस्थाले रक्तदान कार्यक्रम गर्ने गरेका छन् । नेपाल रेडक्रस सोसाइटी दाङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम हुने गरेको छ । रक्तदानका लागि संघसंस्थाले रक्त संचार केन्द्रलाई अनुरोध गरेपछि स्थलगतरुपमै पुगेर रगत संकलन गर्ने गरेको प्रमुख न्यौपानले बताउनुभयो ।

पछिल्लो समय माग अनुसारको रगतको आपुर्ति सहज भएपनि केहि रगत अभाव हुने गरेको राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट बिनोद सिंहले बताउनुभयो ‘अस्पतालमा अरु भन्दा नेगेटीभ ग्रुपको रगत अलि अभाव हुने गरेको छ ।’ उहाँले भन्नुभयो-‘अरु ग्रुपको रगत त पाइराखेका छौँ ।’

अस्पतालमा डायलायसीस सेवा शुरु भएपछि रगतको माग बढी हुने गरेको मेसु सिंहले बताउनुभयो । ‘अस्पतालमा मृगौलाको डायलायसीस सेवा शुरु भएपछि रगतको माग उच्च भएको छ ।’ उहाँले भन्नुभयो-‘प्रसुतिका लागि पनि रगतको माग हुन्छ, त्यसकारण पनि अन्य ठाउँको तुलनामा राप्ती प्रादेशिक अस्पतालमा रगतको माग बढी हुने गरेको छ ।

प्रकाशित मिति : २०७९ असार २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस