दाङ, २८ कात्तिक । दाङमा जुवा खेलीरहेको अवस्थामा पाँच लाख बढी नगदसहित १७ जना जुवाडे पक्राउ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार शनिबार साँझ घोराही उपमहानगरपालिका–१८ अम्बापुरस्थित बसन्त बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा चार लाख बढी नगदसहित ९ जना जुवाडे पक्राउ परेका छन् ।
डिएसपी डा. हेमबहादुर केसीको नेतृत्वमा खटिएको टोलीले खानतलासी गर्दा जुवाखालबाट ४ लाख ८ हजार १ सय २० रुपैयाँ नगद र तीन गड्डी ताससहित ९ जना पक्राउ परेका थिए ।
प्रहरीले घोराही–१४ का नवलसिंह डाँगी, घोराही–१३ का निमबहादुर भण्डारी र रोल्पाको माडी गाउँपालिका–३ का तुलबहादुर खड्का, रामकृष्ण खड्का, घोराही–१८ का बसन्त बुढाथोकी, घोराही–१४ का यदुनाथ पाण्डे, घोराही–१० का हिमराज केसी, घोराही–१४ का निमेश भण्डारी र नयाँबजारका ४१ वर्षीय चन्द्रदेव बुढालाई पक्राउ गरेको छ ।
यस्तै, घोराही उपमहानगरपालिका–१५ का नेपाली कांग्रेसका नेता भुपबहादुर डाँगीको घरमा पनि प्रहरीले छापा मारेको थियो । पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा उक्त स्थानबाट प्रहरीले १ लाख ४ हजार ५ सय ८० रुपैयाँ नगद र तीन गड्डी ताससहित ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कांग्रेस नेता डाँगीसहित घोराही–१६ का वडाअध्यक्ष तारा बहादुर डाँगी, घोराही–१५ का केशरबहादुर पछाई, लुमासिंह बस्नेत, निमबहादुर पुन र गिरीराज केसी रहेका छन् । त्यसैगरी, घोराही–१४ ओबिन्द्र महरा र रोल्पाको रुन्टीगढी गाउँपालिका–५ का हिरालाल रावत पनि पक्राउ परेका छन् ।
दुवै स्थानबाट प्रहरीले कुल ५ लाख १२ हजार ७ सय रुपैयाँ नगद र ६ गड्डी तास बरामद गरेको छ । पक्राउ परेका सबै १७ जनालाई जिल्ला प्रहरी कार्यालय दाङमा राखी थप अनुसन्धान भइरहेको छ ।


