२०८३ कार्तिक २९ गते आइतवार

छिमेकीलाई पेट्रोल छर्की आगो लगाउने एक व्यक्ति पक्राउ


दाङ, २८ कार्तिक । दाङको राजपुरमा एक व्यक्तिमाथि पेट्रोल छर्केर आगो लगाई फरार भएका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । राजपुर गाउँपालिका–२ मटेरियाका ३८ वर्षीय त्रिलोक सिंह कार्कीलाई प्रहरीले लमही नगरपालिका–५ रातोडाँडाबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज दिउँसो करिब २ः२० बजे राजपुर गाउँपालिका–२ खाल गैरामा कार्कीले आफ्‌नै मोटरसाइकलबाट पेट्रोल निकालेर सोही ठाउँका ४९ वर्षीय रुपलाल चौधरीको शरीरमा छर्की आगो लगाएका थिए ।

आगो लगाएर तत्काल फरार भएका कार्कीको खोजतलासका क्रममा उनलाई लमहीबाट पक्राउ गरिएको जिलला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक श्रीकुमार पौडेलले जानकारी दिनुभयो।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी बेलाबाट खटिएको प्रहरी टोलीले घाइते चौधरीको उद्धार गरी तत्काल उपचारका लागि लमही अस्पताल पठाएको थियो।

लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका कार्कीलाई नियन्त्रणमा लिई घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस