२०८३ असोज ९ गते शुक्रवार

कपुरकोट–तुलसीपुर सडकखण्डमा दिउँसोको समयमा पनि सवारी संचालनमा रोक


दाङ, ९ असोज । लगातार वर्षाका कारण पहिरोको जोखिम बढेपछि राप्ती राजमार्गअन्तर्गतको तुलसीपुर–कपुरकोट सडकखण्डमा दिउँसोको समयमा सवारी आवागमन पूर्णरूपमा बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गर्दै राप्ती राजमार्गअन्तर्गतको तुलसीपुर–कपुरकोट सडकखण्डमा सवारी आवागमन बन्द गरिएको जनाएको हो ।

कार्यालयका अनुसार अविरल वर्षाका कारण थप जोखिम उत्पन्न भएकाले आजदेखि ११ गते बेलुका ६ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङले सम्बन्धित सबैलाई आवश्यक जानकारीका लागि सूचना जारी गरेको छ । साथै थप जानकारीका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

यसअघि बिहीबार जिल्ला प्रशासन कार्यालय दाङले वर्षायाममा जोखिम बढ्न सक्ने भन्दै राप्ती राजमार्गसँगै सहिद मार्गअन्तर्गत पर्ने घोराही–होलेरी, तुलसीपुर–सल्यान–सुर्खेत, घोराही–मुर्कुटी तथा भालुवाङ–प्युठान सडकमा रातिको समयमा सवारीसाधन सञ्चालन स्थगित गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस