दाङ । महिलाहरूको सहभागिता, आत्मविश्वास र सुरक्षित सवारी संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको महिला स्कुटर स्लो रेस प्रतियोगिता सम्बन्धी पत्रकार सम्मेलन आज तुलसीपुरमा सम्पन्न भएको छ।
Artistic Entertainment को आयोजनामा हुने प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको उद्देश्य, तयारी, नियम, पुरस्कार तथा सहभागिताका विषयमा जानकारी गराइएको थियो।
कार्यक्रममा वरिष्ठ पत्रकार नारायण खड्काको उपस्थिति रहेको थियो। त्यस्तै लुम्बिनी प्रदेश चलचित्र पत्रकार संघका अध्यक्ष शिव पुनले पनि कार्यक्रममा आफ्नो धारणा राख्दै महिलाहरूको सहभागिता र सुरक्षित सवारीसम्बन्धी यस्ता कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो।
प्रतियोगितामा सहभागी महिलाहरूले निर्धारित ट्र्याकमा स्कुटर चलाउँदै सन्तुलन कायम गरी सबैभन्दा कम गतिमा अन्तिम रेखा पार गर्ने प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका क्रममा निर्धारित लाइनभित्रै रहनुपर्ने र स्कुटर चलाउँदा खुट्टा जमिनमा टेकाउन नपाइने आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुनेलाई रु. ५,०००, द्वितीयलाई रु. २,५०० र तृतीय हुनेलाई रु. १,२५० पुरस्कार प्रदान गरिनेछ।
यसैगरी प्रतियोगितामा सहभागी सबै प्रतियोगीलाई दुईवटा टिकट उपलब्ध गराई नेपाली कथानक चलचित्र ‘बा युद्ध’ हेर्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विजेताका परिवारका सदस्यहरूलाई समेत ‘बा युद्ध’ चलचित्र हेर्ने व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।
आयोजकका अनुसार प्रतियोगिता २०८३ असोज ७ गते बिहान ७ बजे अरणीको मैदान, तुलसीपुरमा आयोजना हुनेछ। प्रतियोगितालाई व्यवस्थित तथा सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक महिलाहरूले आयोजकले उपलब्ध गराएको दर्ता प्रक्रियामार्फत सहभागिता जनाउन सक्नेछन्।


