दाङ, ७ असार । दाङसहित पश्चिम नेपालमा अत्याधिक गर्मी भएको छ । गर्मीका कारण जनजीवन प्रभावित बन्दै गएको छ । गर्मीका कारण विद्यालयमा बालबालिकाको पठनपाठन प्रभावित बनेको छ भने किसानलाई खेतबारीमा काम गर्न समस्या हुने गरेको छ ।
गर्मीका कारण बजार तथा सडकमा चहलपहलसमेत कम भएको छ । आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने गर्मीको प्रभाव कायमै रहने अनुमान गरिएको छ ।
मौसमविदका अनुसार पूर्वी नेपालमा भने वर्षा भइरहेको छ । गएरातिदेखि गण्डकी प्रदेशदेखि पूर्वका अधिकांश क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएरातिदेखि बागमती प्रदेशदेखि पूर्वका प्रायः सबै भूभागमा वर्षा भइरहेको छ ।
मनसुनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका ठाउँमा स्थानमा दिउँसो पनि ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, आज रातिको समयमा पनि कोशी प्रदेशका पहाडी तथा तराई भूभागका केही ठाउँमा ठूलो वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।




