कपुरकोट, २ जेठ । सल्यानको कपुरकोटमा जडिबुटी खेती, संकलन, भण्डारण, प्रशोधन र बजारीकरण सम्बन्धी दुई दिने अगुवा कृषक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
जेठ १ र २ गते दुई दिनसम्म सञ्चालित उक्त कार्यक्रम कपुरकोट गाउँपालिकाका ६ वटै वडाका अगुवा कृषकहरूको सहभागितामा सम्पन्न भएको हो ।

प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेत र आयुर्वेद स्वास्थ्य केन्द्र सल्यानको आयोजना तथा समन्वयमा कार्यक्रम सम्पन्न भएको हो। दुई दिनसम्म चलेको उक्त अभिमुखीकरण कार्यक्रमको सहजीकरण तथा प्रमुख प्रशिक्षण वनस्पति अनुसन्धान केन्द्र सल्यानले गरेको थियो।
कार्यक्रममा सहभागी कृषकहरूलाई जडिबुटीको व्यावसायिक खेती गर्ने तरिका, सही समय र विधिपूर्वक गरिने संकलन, सुरक्षित भण्डारण, आधुनिक प्रशोधन प्रविधि र उत्पादित जडिबुटीको उचित बजारीकरणका सवालमा विस्तृत रूपमा सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो।

सहभागी अगुवा कृषकहरूलाई व्यवहारिक ज्ञान र प्रत्यक्ष अवलोकनका लागि मूलपानी वनस्पति उद्यानको फिल्ड भिजिट (स्थलगत भ्रमण) समेत गराइएको थियो। स्थलगत भ्रमणका क्रममा कृषकहरूले विभिन्न प्रजातिका बहुमूल्य जडिबुटीहरूको पहिचान र तिनको संरक्षण विधिबारे प्रत्यक्ष जानकारी हासिल गरेका थिए।

कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले स्थानीय स्तरमा परम्परागत रूपमा हुँदै आएको जडिबुटी संकलनलाई प्रतिस्थापन गरी व्यावसायिक र वैज्ञानिक खेतीतर्फ कृषकहरूलाई आकर्षित गर्न र आयआर्जनमा टेवा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।





