कपुरकोट, २७ वैशाख । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को ३५औँ स्थापना दिवस सल्यानको कपुरकोटमा विशेष कार्यक्रमका साथ मनाइएको छ ।
‘उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्तन’ भन्ने मूल नाराका साथ अदुवाबाली अनुसन्धान कार्यक्रम, कपुरकोटको आयोजनामा उक्त दिवस मनाइएको हो ।
कार्यक्रमको सुरुवातमा कार्यालय परिसरको जर्म प्लाज्म संकलन क्षेत्रमा अतिथिहरूद्वारा अश्वगन्धा, रोजमेरी र अमृसोका बिरुवाहरू रोपिएको थियो । ती बिरुवाहरू वनस्पति अनुसन्धान केन्द्र, मूलपानीले उपलब्ध गराएको हो ।
कार्यक्रमका संयोजक डा. घनश्याम भण्डारीले अदुवा र हलेदोको संरक्षण एवं अनुसन्धानमा भइरहेका प्रगतिबारे जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म अदुवाका ६३ वटा प्रजाति, पहेँलो हलेदो (बेसार) का १०५ वटा प्रजाति र कालो हलेदोका १५ वटा स्थानीय प्रजातिहरूको संरक्षण गरिएको छ ।
ति जातहरूको खेती विस्तार र बजारीकरणका क्षेत्रमा कार्यालयले उल्लेखनीय कार्य गरिरहेको डा. भण्डारीले बताउनुभयो । कार्यक्रमका क्रममा कपुरकोट गाउँपालिका, वनस्पति अनुसन्धान केन्द्र र अदुवा बाली अनुसन्धान कार्यक्रम बीच ‘जैविक विषादी’ लगायतका विषयमा आगामी दिनमा सहकार्य गर्ने बारे महत्वपूर्ण छलफल भएको छ ।
यस्तै, सब डिभिजन वन कार्यालयले ‘एग्रो–फरेष्ट्री’ (कृषि–वन) को अवधारणा अनुसार कपुरकोटस्थित अन्य कार्यालयहरूसँग समन्वय गरी कार्य गर्ने तत्परता व्यक्त गरेको छ ।
प्रमुख अतिथि कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुन, विशिष्ठ अतिथि वनस्पति अनुसन्धान केन्द्र मूलपानीका प्रमुख डा. मित्र पाठक, कृषि शाखा प्रमुख गौरव बन्जाडे र सब डिभिजन वन कार्यालयका कमला घर्ती मगर लगायतले कृषिमा आधारित उद्यमशीलता सिर्जना गर्न र स्थानीय स्तरमै रोजगारीका अवसरहरू बढाउन कृषि अनुसन्धान र नयाँ प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभयो ।




