२०८३ असार ७ गते आइतवार

कपुरकोटमा खुल्ला ‘टिम्मुरकप ब्याडमिन्टन’ : हमाल र डाँगीको जोडी प्रथम


कपुरकोट, २८ चैत । वनस्पति दिवसको अवसरमा सल्यानको कपुरकोटमा शनिबार गाउँपालिका स्तरीय खुल्ला ‘टिम्मुरकप ब्याडमिन्टन प्रतियोगिता’ गरिएको छ ।

प्रतियोगिता कपुरकोट गाउँपालिका वडा नं. ५ रिम स्थित बहुउद्देश्यीय कभर्ड हलमा सञ्चालन गरिएको हो ।

प्रतियोगितामा सुबास हमाल र भुवन डाँगीको जोडीले प्रथम स्थान हासिल गरेको छ । त्यसैगरी सुरेन्द्र पुरी र सुशील बोहराको टोली द्वितीय र खल बहादुर घर्ती र यम महतराको टोली तृतीय हुन सफल भएका छन् ।

जीवन ज्योति नमुना मावि रिमका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै वनस्पति अनुसन्धान केन्द्रका प्रमुख डाक्टर मित्र पाठकले खेलकुद र जडीबुटीलाई जोडेर वर्षेनी यस्ता कार्यक्रम आयोजना गरिने गरिएको बताउनुभयो ।

प्रतियोगिताका विजेता खेलाडीहरूलाई आगामी २९ गते मूलपानी वनस्पति उद्यानमा आयोजना हुने वनस्पति दिवसको मूल समारोहमा नगद, मेडल र प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।

वनस्पति अनुसन्धान केन्द्रको आयोजना र विभिन्न संघसंस्थाहरूको आर्थिक सहयोगमा भएको यस प्रतियोगितामा ४० भन्दा बढी खेलाडीहरूको सहभागिता थियो ।

कार्यक्रममा कपुरकोट ५ का वडाध्यक्ष, जिल्ला ब्याडमिन्टन संघका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापकहरू, बैंक, वित्तीय तथा सहकारी संस्थाका पदाधिकारीहरू र स्थानीय समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

वनस्पति अनुसन्धान केन्द्रले हरेक वर्ष वनस्पति दिवसको अवसर पारेर कपुरकोटको मुख्य पहिचानका रूपमा रहेको ’टिम्मुर’को नामबाट यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस