दाङ, ४ फागुन । दाङको तुलसीपुरमा संचालित लुम्बिनी प्रदेशस्तरिय फुटबल प्रतियोगिताको फाइनल खेलमा सेकेन्डरी स्कुल तुलसीपुर सेन्टरले एकपक्षीय जित निकाल्दै उपाधि हात पारेको छ ।
सोमबार भएको फाइनल भिडन्तमा बर्दियाको श्री शिव दुर्गा माध्यमिक विद्यालयलाई ८–० को फराकिलो गोल अन्तरले पराजित गर्दै तुलसीपुर सेन्टरले च्याम्पियनको ट्रफी उचालेको हो ।

प्रतियोगिताको समापन समारोहमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष तथा नगर प्रवक्ता माधव ओलीले खेलकुदले विद्यार्थीको अनुशासन र शारीरिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा प्रतियोगिताका मुख्य प्रायोजक अमृत रावत, तुलसीपुर सेन्टर मावि. का प्रधानाध्यापक भागवत पौडेल लगायतले संयुक्त रूपमा विजेता तथा उपविजेता टिमलाई ट्रफी, पदक र प्रमाणपत्र वितरण गर्नुभयो ।
खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विधागत अवार्ड प्रदान गरिएको छ । बेष्ट प्लेयर तुलसीपुर सेन्टरका आरती खड्का हुनुभएको छ भने
उत्कृष्ट गोलरक्षक मावि तुलसीपुर सेन्टरका इन्द्रा रावत हुनुभएको छ ।
प्रतियोगिता अत्यन्तै उत्साहजनक रूपमा सम्पन्न भएको र यसले स्थानीय स्तरमा महिला फुटबलको विकासमा नयाँ इँटा थपेको खेल शिक्षक दुगा राजलवटले बताउनुभयो ।





