२०८३ भाद्र ९ गते मङ्गलवार

दाङमा ५० जना जुवाडे पक्राउ, आठ लाख बढी नगद बरामद

दाङ, ५ कार्तिक । चाडपर्वको समयमा रमाइलोका लागि जुवा खेल्ने प्रचलन मौलाउँदै गएको छ । जुवा खेल्नमा जनप्रतिनिधि समेत संलग्न रहने गरेका छन् ।

दशैं–तिहारको बीचमा दाङका विभिन्न स्थानहरूमा प्रहरीले दैनिक रूपमा जुवातास खेल्नेहरूलाई पक्राउ गर्न थालेको छ । कानूनी रूपमा जुवा खेल्न बन्देज लगाइएको भए पनि दशै र तिहारको समयमा जुवा तास खेल्ने प्रवृति बढिरहेको छ ।

यसपालिको दशैँ र तिहारको अवधिमा दाङ प्रहरीले जुवा खेल्ने ५० जनालाई पक्राउ गरेको छ । दशैं–तिहारको बीचमा प्रहरीले दाङका विभिन्न स्थानमा पाँच दिनको अवधिमा ५० जना जुवाडेलार्ई पक्राउ गरेको हो ।

अन्य समयको तुलनामा दशै र तिहार पर्वको समयमा जुवाडेहरु सक्रिय हुने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार दाङको तुलसीपुर, घोराही र राप्ती गाँउपालिका लगाएतका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको हो । गत असोज ३० गतेदेखि कार्तिक ४ गतेसम्म ५० जना जुवाडे पक्राउ परेका छन् । जसमा सबैभन्दा धेरै घोराही क्षेत्रबाट २१ जना, तुलसीपुरबाट १६ जना, र राप्ती गाउँपालिकाबाट १३ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये एक जना रोल्पाका रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट ८ लाख ६६ हजार ९ सय २५ रुपैंया नगद समेत बरामद गरेको जनाएको छ । बरामद रकममध्ये घोराही क्षेत्रबाट ५ लाख ९५ हजार ३७५ रुपैयाँ, तुलसीपुरबाट १ लाख ४९ हजार ७५५ रुपैयाँ, र राप्ती गाउँपालिकाबाट १ लाख २१ हजार ७९५ रुपैयाँ फेला परेको दाङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जुवाडेलाई जुवा खेल्ने ठाउँहरूमा छापा मारी पक्राउ गरेको डिएसपी शाहको भनाई छ । जुवा खेल्ने गतिविधि रोक्न स्थानीय समुदायको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८२ कार्तिक ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस