२०८३ भाद्र १३ गते शनिवार

लामो समयपछि घोराही–तुलसीपुर फोर लेन निर्माण पुनः सुरु हुँदै

दाङ, ११ भदौ । लामो समयदेखि अधुरो र जीर्ण अवस्थामा रहेको घोराही–तुलसीपुर फोर लेन सडक दशैँलगत्तै पुनः निर्माण सुरु हुने भएको छ । भारतीय कम्पनीले सुरु गरेर बीचमै छाडिदिँदा लामो समयसम्म अलपत्र परेको सडकले अहिले नयाँ ठेकेदारसँग सम्झौता भएपछि निर्माणमा आशा जगाएको हो ।

यो सडक जीर्ण अवस्थामै रहँदा विगत केही वर्षमा करिब तीन दर्जनले ज्यान गुमाएका छन् । यात्रु र स्थानीयवासी निरन्तर सास्ती भोगिरहेका बेला सरकारको नयाँ निर्णयले अब सुरक्षित र सुविधा सम्पन्न सडक पाउने अपेक्षा बढेको छ ।

करिब दुई अर्ब ५३ करोड रुपैयाँमा सम्झौता भएको यो काम दिवा–वन्दन भगवती जेभीले पाएको छ । हाल निर्माण कम्पनी र सडक डिभिजनका प्राविधिकले संयुक्त सर्भे गरिरहेका छन् । दशैँपछि स्थलगत रूपमा निर्माण सुरु गर्ने तयारी भइरहेको सर्भे प्राविधिक तिलक खड्काले जानकारी दिनुभयो ।

सहरी क्षेत्रमा ३० मिटर चौडाइ, दुवैतर्फ फुटपाथ र तीन मिटरको मेडियनसहित रेलिङ तथा वृक्षारोपण हुने गरी सडक डिजाइन गरिएको छ । ग्रामीण क्षेत्रमा भने १५ मिटर चौडाइको सडक बन्नेछ ।

यसअघि भारतीय एक्जिम बैंकको ऋणमा भारतको मुम्बईस्थित तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टलाई ठेक्का दिइएको थियो । तर कम्पनीले तोकिएको समयमा काम सम्पन्न नगरेपछि ठेक्का रद्द गरिएको हो ।

मदन भण्डारी राजमार्ग आयोजनाअन्तर्गत पर्ने यो सडक २१.५८ किलोमिटर लामो छ । नयाँ सम्झौताअनुसार २०८५ असार २४ भित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस