दाङ, १५ साउन । ‘द भ्वाइस किड्स नेपाल’ को चौथो संस्करणले नयाँ प्रतिभाहरूमार्फत नेपाली साङ्गीतिक क्षेत्रमा नयाँ उचाइ थपिरहेको छ। यसै क्रममा दाङ घोराही उपमहानगरपालिका–१५ की प्रतिभाशाली बालगायिका सोनम श्रेष्ठ सेमिफाइनलमा प्रवेश गरेकी छन्। कोच मिलन नेवारको टिमबाट प्रतिस्पर्धा गरिरहेकी सोनम आफ्ना उत्कृष्ट प्रस्तुतिका कारण दर्शक र निर्णायक दुवैको मन जित्न सफल भएकी हुन्।

स्वरको मिठास, शब्दप्रति सम्मान र भावनात्मक सम्प्रेषणले उनीलाई अन्य प्रतिस्पर्धीभन्दा अलग बनाएको छ। उनी अध्ययनरत जनज्योति विद्यामन्दिर, घोराहीमा बुधबार फेन्सी तथा रेडिमेड व्यवसायी समिति घोराही नगर अध्यक्ष निरञ्जन श्रेष्ठ, पत्रकार दीपक जिएम, छवि पुरी र चन्द्रप्रकाश नेपालीसहितको टोलीले भोट अभियान सञ्चालन गरेको थियो। टोलीले विद्यालयका प्रधानाध्यापक दिब्य अधिकारी तथा विद्यार्थीहरूसँग भेट गर्दै सोनमलाई जिताउन भोट गर्न आग्रह गरेको हो।

यसैक्रममा, दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ, शिक्षक राजेन्द्र श्रेष्ठसहितको अर्को टोलीले घोराही–१४ स्थित गोर्खा स्कुल पुगेर त्यहाँका प्रधानाध्यापक मानसिंह घर्तीसँग भेट गरी विद्यालयको प्रवेशद्वारमा “Vote for Sonam” लेखिएको ब्यानर टाँसिएको छ। विहीबार बिहान १० बजे सोही विद्यालयको प्रार्थना कार्यक्रममा पनि सोनमलाई समर्थन गर्ने कार्यक्रम तय गरिएको छ।

दाङवासी मात्र होइन, देशभरिका दर्शकलाई भोट मार्फत समर्थन गर्न आग्रह गर्दै सोनमले भनिन् —
“म दाङकी छोरी हुँ भन्ने गर्वका साथ राष्ट्रिय मञ्चमा उभिएकी छु। तपाईंहरूको साथ, माया र विश्वास नै मेरो जितको आधार हो। कृपया ‘खल्ती’ एप प्रयोग गरेर मलाई भोट दिनुहोस्।”
स्थानीय स्तरबाट सुरु भएको सोनमको साङ्गीतिक यात्रा आज राष्ट्रिय मञ्चसम्म आइपुगेको छ। दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठले भने,– “सबैले मिलेर सोनमलाई जिताउन सक्छौं। उनी हाम्रो छोरी हुन्, हाम्रो गौरव हुन्। सानो सहयोगले उनलाई ठूलो मञ्च दिलाउन सक्छ।”
भोट दिन ‘खल्ती’ एप खोली The Voice Kids Nepal को भोटिङ सेसनमा गएर Team Milan अन्तर्गत Sonam Shrestha छानेर भोट गर्न सकिने बताइएको छ।


