२०८३ भाद्र १३ गते शनिवार

तीन दिनदेखि सम्पर्कबिहिन कर्मचारी सम्पर्कमा आए


दाङ, २६ असार । तीन दिनदेखि सम्पर्कविहीन भएका रोल्पाको थवाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी पालिकाको सम्पर्कमा आएका छन् ।

असार २३ गते राति ९ बजे कार्यालयबाट निस्केका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर लगायत सात जना कर्मचारी बुधबार मात्रै सम्पर्कमा आएको गाउँपालिकाका अध्यक्ष ऋषिकेष बुढामगरले जानकारी दिनुभयो ।

कर्मचारीहरु गुल्मी पुगेको खबर केही समयअगाडि थाहा भएको उहाँले बताउनुभयो । २३ गते रातिदेखि प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीहरू सम्पर्कविहीन भएपछि पालिकाले सूचना नै जारी गरेर उनीहरूलाई सम्पर्कमा आउन भनेको थियो।

पालिकाले जारी गरेको सूचनाअनुसार २३ गते राति प्रमुख प्रशासकीय अधिकृतले कार्यालयको भुक्तानी गर्न ओटिपी कोडका लागि भोलिपल्ट रूकुम पूर्वमा गई काम गर्ने भनेका थिए ।

‘यहाँ नेटवर्कको समस्या छ । नेटवर्क आउने जाने भइरहँदा भुक्तानीमा समस्या नहोस् भनेर हुन्छ भनेको पालिका अध्यक्ष बुढामगरले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृतसँगै सहायक प्रशासक हरिश माझी, सह–लेखापाल यज्ञ प्रसाद कँडेल, सबइन्जिनियर चन्द्रप्रकाश ओली, सबइन्जिनियर निशा आचार्य, शिवकुमार वली र सवारी चालक प्रदीप केसी सम्पर्कविहीन भएका थिए ।

‘उहाँहरू सबैको फोन अफ थियो। उहाँहरू आफूले पनि सम्पर्क गर्नु भएको थिएन। सबै कर्मचारी लिएर जानुभएपछि कार्यलयको काम पनि प्रभावित भयो। अहिले सम्पर्क भएको छ । गुल्मी किन जानुभयो पनि भन्नुभएन’ पालिका अध्यक्ष बुढामगरले भन्नुभएको छ ।

प्रकाशित मिति : २०८२ असार २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस