दाङ, १६ असार । मनसुन सक्रिय भएसँगै दाङ जिल्लामा भारी वर्षा र त्यससँगै पहिरो, बाढी, चट्याङ, नदी कटान तथा डुबानजस्ता विपद्को जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय दाङले सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट जारी गरिएको सूचनामा हालको वर्षा र आगामी दिनमा अझै वर्षा जारी रहने मौसम पूर्वानुमान रहेको जनाइएको छ। यस्तो अवस्थामा कुनै पनि विपद् घट्न सक्ने भएकाले स्थानीय तह, सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाजलगायत सबैलाई उच्च सतर्क रहन अनुरोध गरिएको छ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले हस्ताक्षर गरेको सूचनामा स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई मनसुनपूर्व तयारी तथा प्रतिकार्य योजना तत्काल प्रभावकारी बनाउन भनिएको छ। साथै जिल्लाभित्र क्विक रेस्पोन्स टिम (QRT) तयारी अवस्थामा राखी विपद् प्रतिकार्यमा जुट्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
सूचनामा विपद्को समयमा सवारी साधन तथा श्रोत साधनको समन्वय व्यवस्थापनका लागि सम्पूर्ण सरोकारवालाले आफ्नो जिम्मेवारी पूरा गर्न पनि आग्रह गरिएको छ। साथै सञ्चार माध्यमलाई विपद्सम्बन्धी सूचना समयमै प्रसारप्रसार गर्न अनुरोध गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले विपद्का घटना घट्नासाथ तत्काल जानकारी दिन समेत सबैलाई अनुरोध गरेको छ।


