२०८३ भाद्र १३ गते शनिवार

देशभर मनसुन सक्रिय : पश्चिम नेपालका विभिन्न ठाउँमा आज पनि भारी वर्षाको संभावना

दाङ, १६ असार । दाङसहित पश्चिम नेपालका विभिन्न ठाउँमा आज पनि भारी वर्षाको संभावना छ । आज विषेशगरी लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले देशभर नै मनसुन सक्रिय भएको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजसम्म लुम्बिनी प्रदेशका दाङ, बाँके र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिमको बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुरमा भीषण वर्षाको सम्भावना रहेकाले पूर्वसूचनाको पालना गर्दै सावधान रहन भनेको छ ।

अरु पहाडी भूभागमा पनि भीषण वर्षाको सम्भावना रहेकाले अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, मौसमी सूचनाको जानकारी राख्दै डुबान हुन सक्ने घरका नागरिकले सतर्कता अपनाउन, नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउँदै किनारामा कुनै काम नगर्न र उच्च जोखिम रहेका जिल्लाका विपत् व्यवस्थापन समिति एवम् सुरक्षा समितिले आवश्यक निर्णय गर्न र पालना गराउन पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२ असार १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस