२०८३ भाद्र १४ गते आइतवार

दुर्लभ रुख उन्यु भेटियो सल्यानमा

वैज्ञानिक हिसाबले साइथिया स्पाइनुलोसा, नेपालीमा रुख उन्यु तथा स्थानिय रुपमा रुख डउरे भनेर चिनिने दुर्लभ विरुवा कर्णाली एवं पश्चिम नेपालमा पहिलो पटक भेटिएको छ ।

वनस्पित अनुसन्धान केन्द्र सल्यानले सल्यानकै दार्मा गा पा र कपुरकोट गा पा का फरक फरक दुइ सामुदायिक वनमा सानो संख्यामा रुख उन्यु भेटिएको हो ।

नेपालमा पाइने साइथियाका चार प्रजाती साइटिसमा सुचिकृत छन्। ती मध्ये दुइलाइ संकटापन्न, एउटालाइ दुर्लभ र एउटा हराउँदै गइरहेकोमा मूल्याङ्कन गरिएको छ। उपस्थिति र फैलावटको आधारमा साइथिया स्पाइनुलोसा लाइ लिस्ट कन्सर्न प्रजाति मानिएको छ।


फरक फरक देशहरुले फरक फरक सूचीकृत गरे अनुसार साइथिया स्पाइनुलोसालाई कतै दुर्लभ त कतै थ्रेटन अनि कतै लिस्ट कन्सर्न प्रजाति मानिन्छ। नेपालले भने लिस्ट कन्सर्नमा राखेको छ ।

देश अनुसार बासस्थान पनि थोरै फरक फरक देखिन्छ । नेपालमा यसको उपस्थिति ७५० मिटर देखि २००० मिटर पूर्व र मध्य नेपाल भनिएको छ भने ताइवानमा ३०० मिटरदेखि २५०० मिटरको उचाइमा घना, गाढा जंगलहरूमा पाइन्छ । अब भने यो प्रजाती पूर्व मध्य सँगै पश्चिम नेपालमा पनि रिपोर्ट भएको छ ।


काँडेदार फर्न रूख भनेर चिनिने साइथिया स्पिनुलोसाको परम्परागत औषधि, खाना र सजावट सहित विभिन्न प्रयोगहरू छन्। यसलाई परम्परागत औषधिमा छाला, मिर्गौला र आँखाको संक्रमणको उपचारको लागि र क्यान्सर र मधुमेह तथा क्षय रोगहरूको लागि पनि प्रयोग गरिन्छ। थप रूपमा, यसको पातहरू अचार र तरकारीको लागि प्रयोग गर्न सकिन्छ, र डाँठको गुदि खान योग्य र स्टार्च युक्त हुन्छ।

साइथिया स्पिनुलोसालाई सजावटी बोटको रूपमा पनि मूल्यवान मानिन्छ । वनस्पित अनुसन्धान केन्द्र सल्यानले रुख उन्यु लगायत सल्यान र आसपास पाइने दुर्लभ र संकटापन्न विरुवाहरु काकरसिङी, वन चाँप, सुनाखरी, टटेलो लगायतको संरक्षणका लागि सचेतना अभियान तथा सामुदायिक वनमा पुन:रोपणको काम पनि गरिरहेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस