२०८३ भाद्र १५ गते सोमवार

प्रथम जननिर्वाचित सरकारलाई अपदस्थ गरिएको विरोधमा कालो दिवस मनाइँदै


दाङ, १ पुस । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज कालो दिवसका रूपमा मनाइँदैछ । २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रबाट पञ्चायती शासन व्यवस्थाको सुरुवात गरिएको थियो ।

सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका नेतृत्वमा रहेका अधिकारीको आवासमा पर्खालले घेरी बिपी लगायतका नेतालाई बन्दी बनाइएको थियो । पुस १ गतेको घटनापछि बिपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन लगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो ।

विसं २०६१ भदौ २४ गते बन्दी गृहलाई बिपी सङ्ग्रहालयका रुपमा घोषणा गरी सञ्चालनमा ल्याइएको छ । आज नेपाली काँग्रेस र नेपाल तरुण दललगायत अन्य भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम गरी कालो दिवस मनाउन लागेको जनाएका छन् ।

प्रकाशित मिति : २०८१ पुष १ गते सोमवार
प्रतिक्रिया दिनुहोस