दाङ, २५ मङ्सिर । दाङसहित देशभर चिसो बढ्दै गएको छ । तापक्रममा निरन्तर गिरावट आउन थालेपछि चिसो बढ्न थालेको छ । पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात भएसंगै चिसो झनै बढेको हो ।
दाङको न्यूनतम तापक्रम पनि निरन्तर गिरावट आउन थालेको छ । आइतबार १० दशमलव २ डिग्री सेल्सीयस न्यूनतम तापक्रम रहेकोमा हिजो ९ दशमलव ५ डिग्री सेल्सीयस मापन गरिएको जल तथा मौसम फिल्ड कार्यालय घोराहीले जनाएको छ ।
कार्यालयका अनुसार आजको न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सीयसम झरेको छ । हिजोको तुलनामा आज न्यूनतम तापक्रम २ दशमलव ७ डिग्री सेल्सीयसमा झरेको छ ।
अधिकतम तापक्रम पनि २१ डिग्री सेल्सीयस आसपासमा झरेको जल तथा मौसम फिल्ड कार्यालय घोराहीले जनाएको छ । चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । बिहानको समय बाक्लो कुहिरोले ढाकिने र चिसो हावा चल्ने कारणले सर्वसाधारणलाई दैनिक कामकाजमा कठिनाइ भएको छ ।
विशेषगरी बिहान र बेलुकी चिसोको असर बढी महसुस गरिएको छ । किसानहरूले चिसोका कारण बालीनालीमा असर पर्ने चिन्ता व्यक्त गरेका छन् । विद्यालय जाने विद्यार्थीहरू र बिहानै कामकाजका लागि घरबाट निस्कने श्रमिक वर्ग बढी प्रभावित भएका छन् ।
स्वास्थ्यकर्मीहरूले वृद्धवृद्धा, बालबालिका, र दीर्घ रोगीहरूलाई चिसोबाट जोगिन विशेष सावधानी अपनाउन सुझाव दिएका छन् । वायु प्रदूषण र चिसो मिलेर श्वासप्रश्वास सम्बन्धी समस्या बढ्ने सम्भावना रहेको उनीहरूको भनाइ छ ।


