दाङ, २१ कार्तिक । विकासे आयोजनाको ठेक्का लाग्न नै ढिलाई हुने गरेको छ । योजना परेपनि ठेक्का लाग्न ढिलाई हुँदा नागरिकले समयमै विकास पाउन सकेका छैनन् ।
सडक पूर्वाधार विकास कार्यालय दाङका चालु आर्थिक वर्षमा सडकका दुई सय ४७ आयोजना छन् । तर अझै एक सय ५८ वटा आयोजनाको टेण्डर खुल्न बाँकी छ । पूर्वाधार विकास कार्यालय दाङका अधिकृत लीलाधर गिरीले एक सय ५८ वटा आयोजनाको टेण्डर खुल्न बाँकी रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार २० लाख भन्दा माथिका ९० प्रतिशतको ठेक्का खुलेको छ भने ५देखि १० लाख रुपैयाँ बजेट भएका आयोजनाको ठेक्का लाग्न बाँकी छ ।शहरी विकास तथा भवन कार्यालयको हालत पनि उस्तै छ । भवन कार्यालयको पनि आधा आयोजनाको पनि ठेक्का लागेको छैन ।
चालू आर्थिक वर्ष २०८१/०८२ मा स्वीकृत कार्यक्रम एक सय ७४ वटा छन् । तर हालसम्म ७२ आयोजना मात्रै टेण्डर प्रक्रियामा अगाडि बढेका छन् । एक सय दुई आयोजनाको ठेक्का नै लागेको छैन । शहरी विकास तथा भवन कार्यालय दाङका निमित्त कार्यालय प्रमुख ईश्वरीप्रसाद देवकोटाले बस्ती विकास भन्दा शहरी पूर्वाधारका आयोजना बढी भएको बताउँदै भवन भन्दा धेरै सडककै ठेक्का लागेको बताउनुभयो ।
जेठ १५ गते संसदमा बजेट प्रस्तुत भएर असार मसान्त अगावै बजेट पास भए पनि आयोजनाको डिपिआर तयार गर्ने, ठेक्काको लागि तयारी गर्नेलगायतका काममा ढिलाइ हुँदा यस वर्ष पनि असारे विकासले बढावा पाउने निश्चित जस्तै देखिएको छ । नयाँ युगबोध राष्ट्रिय दैनिकमा सन्तोष खनालले खबर लेख्नुभएको छ ।


