दाङ, १३ कार्तिक । तिहारमा धेरै बिक्री हुने भनेको झिलिमिली बत्ती हो । तर यसपटक तिहारको बेलामा पनि विद्युतीय सामग्रीको व्यापार उत्साहजनक हुन सकेको छैन् ।
पोहोरकै विद्युतीय सामग्री बिक्री नभएकाले यस वर्ष नयाँ सामग्री खासै नकिनेको व्यवसायीहरूको भनाइ छ ।
नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष रेशमप्रसाद देवकोटाले बजारको अवस्था कमजोर रहेको बताउनुभयो । उहाँका अनुसार विगतका वर्षहरूमा झैँ यस वर्ष विद्युतीय सामग्रीको व्यापार छैन ।
कोलकताबाट वीरगञ्ज नाका हुँदै भारतबाट आउने सामान आइसकेको भए पनि तातोपानी र केरुङ नाका भएर चीनबाट आउने विद्युतीय सामग्री आएका छैनन् ।
महासङ्घले यस वर्षको तिहारमा ३० करोड रुपैयाँसम्मको सामान बिक्री गर्ने अनुमान गरेको छ । तर विगतका वर्षहरूमा ५०/६० करोड रुपैयाँको विद्युतीय सामग्रीको व्यापार हुन्थ्यो ।
तुलसीपुरका व्यवसायी दुर्गा भुषालले अहिले व्यापार खासै राम्रो नभएको गुनासो गर्नुभएको छ । पैसाको अभावका कारण नै बजारमा चहलपहल कम रहेको व्यवसायी भुषालको भनाइ छ । रमाइलो गर्ने युवा जनशक्ति बाहिरिँदा यस्ता व्यापारमा समेत असर पर्ने गरेको उहाँको भनाइ छ ।


