२०८३ भाद्र १९ गते शुक्रवार

सिमलताल दुर्घटना अपडेट : वेपत्ता बस र यात्रुको खोजि कार्य आज पनि जारी


चितवन, ३ साउन । त्रिसुली नदीमा बेपत्ता बस र यात्रुको खोजीकार्य आज पनि जारी छ । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव प्राप्त भएको छ ।

जसमध्ये १४ जनाको सनाखत भएको छ भने पाँच जनाको पहिचान खुल्न सकेको छैन । अहिलेसम्म भारतका ऋषिपल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप विक, बाराका परमानन्द पण्डित र चन्द्रानिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ ।

यस्तै, रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी, रौतहटकी अमृता कुमारीको शव सनाखत भएको छ ।

गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्सको बस यात्रुसहित पहिरोमा परी त्रिशूली नदीमा खसेको थियो ।

दुवै बसमा गरी ६५ यात्रु रहेकोमा तीनजनाले पौडिएर ज्यान जोगाएका थिए भने अझै ४३ जनाको अवस्था अज्ञात छ । बसमा सवार रौतहटका नन्दन दास, जुगेश्वर यादव र सरोजकुमार गुप्ताले पौडिएर ज्यान जोगाएका थिए ।

प्रकाशित मिति : २०८१ साउन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस