दाङ, ४ असार ।दाङको बेल्झुन्डी रंगशालामा आजदेखि जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगिता सुरु भएको छ ।
दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको तत्त्वाधानमा संचालित प्रतियोगिताको आज सम्पन्न खेलमा बडहरा,एसएसएफए र सक्सेस फुटबल क्लब बिजयी भएका छन् ।
बडहरा युथ क्लब घोराहीले युनाईटेड फुटबल क्लब तुलसीपुरलाई एकका बिरुद्ध चार गोलले पराजित गर्दै बिजयी यात्रा सुरु गरेको हो । त्यस्तै दोस्रो खेलमा ज्ञान ज्योती क्लब लाई एसएसएफए तुलसीपुरले दुईका विरुद्ध तीन गोलले पराजित गर्दै बिजयी सुरुवात गर्दा सक्सेस फुटबल क्लबले न्यु स्टार नारायणपुर लाई सुन्यका विरुद्ध दुई गोलले पराजित गर्दै बिजयी यात्रा सुरु गरेको हो ।
प्रतियोगिता अन्तरगत भोलि बिहिवार बिहान ८ बजे हुने पहिलो खेलमा राप्ती क्लब घोराही र किसान जागृत युवा क्लब घोराही भिड्नेछन् । त्यस्तै दोस्रो खेलमा युएनबिसी घोराही र टाईगर युवा क्लब तुलसीपुर भिड्नेछन् भने भोलि अन्तिम खेलमा लक्ष्य युवा क्लब तुलसीपुर र नवलपुर फुटबल एकेडेमी बिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक केशव चौधरी मिग्माले जानकारी दिनुभयो ।
असार १९ गते सम्म संचालन हुने प्रतियोगितामा जिल्लाका १२ क्लबको सहभागिता रहेको छ ।
लिग कम नकाउट प्रणालीका आधारमा खेलाईने प्रतियोगितामा सहभागी क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । समूह ए मा युनाईटेड फुटबल क्लब तुलसीपुर,न्यु स्टार फुटबल क्लब नारायणपुर, सक्सेस फुटबल तुलसीपुर, बडहरा फुटबल क्लब घोराही, एसएसएफए तुलसीपुर र इनोभेटिम ज्ञानज्योती फुटबल क्लब तुलसीपुर रहेका छन् ।
त्यस्तै समूह बि मा नवलपुर फुटबल एकेडेमी घोराही, टाईगर युवा क्लब तुलसीपुर, युएनबिसी घोराही,किसान जागृत युवा क्लब घोराही, राप्ती फुटबल क्लब घोराही र लक्ष्य युबा क्लब तुलसीपुर रहेको दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालले जानकारी दिनुभयो ।
समूह ए र समूह बि का बिजेता,उपबिजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । लिगको बिजेताले नगद ५० हजार, कप,मेडल प्रमाणपत्र हात पार्नेछ ।त्यस्तै उपबिजेताले नगद २५ हजार,मेडल,प्रमाणपत्र हात पार्नेछ ।





