२०८३ भाद्र ५ गते शुक्रवार

समाजमा जातीय विभेद कायमै रहेको दलित अगुवाको दुखेसो


दाङ,३ चैत । छुवाछुत राष्ट्र घोषणा भएपनि समाजमा अझै विभेद कायमै रहेको दलित अधिकारकर्मीले बताएका छन् ।

छुवाछुतलाई संविधानले अपराधको रुपमा लिएपनि जातिय विभेद कायम रहनु दुखद भएको उनिहरुको भनाई छ ।

दलित महिला संघ दाङका अध्यक्ष युवा कराराले जातिय विभेदले मानव विकासमा अवरोध भएको बताउनुभयो । उहाले विभेदरहित समाज निर्माणका लागि जातीय मुद्दा साझा बन्नुपर्ने बताउनुभयो ।

उहाँले दलित भएकै कारण सार्वजनिक धारा,कुवाको पानी प्रयोग गर्न नपाएका दृष्टान्त रहेको पनि बताउनुभयो ।

उहाँले विभेद अन्त्यका लागि सचेतना फैलाउन तुलसीपुर उपमहानगरपालिकामा रहेका दुई र दंगिशरण गाँउपालिकामा एक गरी तीन सामुदायीक विद्यालयमा किशोर-किशोरी संजाल गठन गरिएको बताउनुभयो ।

दलित समुदायका आवाजलाई संचारमाध्यमले निरन्तर रुपमा समावेश गर्नुपर्ने दलित अधिकारकर्मी निमर्ल नेपालीले बताउनुभयो ।

विभिन्न दिवश र सभा समारोहमा विषयवस्तु प्रसारण तथा प्रकाशन भएपनि दलित अधिकारका विषयहरुले नियमित सञ्चारमाध्यममा उचित स्थान प्राप्त गर्न नसकेको बताउनुभयो ।

प्रविधिमैत्री आजको सञ्चार युगमा जातिय विभेदको पूणर् रुपमा अन्त्यका लागि सञ्चारमाध्यमको महत्वपूणर् भुमिका रहेको उहाँले बताउनुभयो ।

समाज रुपान्तरणको अभ्यासमा जातिय विभेद पनि समुदायमा पुस्तान्तरण हुँदा विद्यमान कुरिति र कुसंस्कारका विरुद्ध कलम चलाउनुपर्ने पत्रकार गिरिराज नेपालीले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ दाङका सदस्य समेत रहेका नेपालीले दलित भएकै कारण पत्रकारीता पेशामा अन्य समुदायले हेर्ने दृष्टिकोणमा भेदभाव भएको आफुलाई महशुस हुने गरेको बताउनुभयो । समाजमा भएका जातिय भेदभाव विरुद्धका घट्नामा समाचार लेख्दा अग्रजहरुबाटै रोक्न दबाव आउने गरेको उहाँको भनाइ छ ।

पत्रकार एकराज भण्डारीले जातीय विभेदका घटनामा समाचार तयार गरेर प्रसारण तथा प्रकाशन नभएरै समाचारको हत्या हुनु राम्रो नभएको बताउनुभयो । गलत संस्कारका विरुद्ध जस्तोसुकै समस्या सामना गरेरै भएपनि रिपोटिङ गरेर समाजमा सकारात्मक धारणाको विकास गर्न कलम चलाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकार जितसागर जीएम,निरला अर्याल गैरे, दिपक बोहोरा लगाएतले पत्रकारीताको माध्यमबाट समाज रुपान्तरणमा निरन्तर खबरदारी गरिरहेको बताउनुभयो ।

प्रकाशित मिति : २०८० चैत्र ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस