दाङ, ४ पुस । दाङको लमही नगरपालिका – ५ मा रहेको जुनतारा सुनचाँदी’ पसलमा लुटपाट गर्ने उदेश्यले गोली चलाएर भागेका ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बंगलाचुली गाँउपालिका–४ काभ्रे गाउँका ३३ बर्षीय किरण भनिने लेखराज केसीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनी गत चदौ २४ गते जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका लेखराज लागु औषध मुद्दामा १५ बर्ष कैद र पाँच लाख जरिवाना तोकिएका ब्यक्ति रहेको दाङ प्रहरीले जनाएको छ । रुकुम जिल्ला अदालत मुसिकोट रुकुमले केसीलाई २०७७ /११ / २७ गते लागु औषध (अफिम) कसुर अपराध मुद्दामा अभियोग ठहर गर्दै १५ बर्ष कैद र पाँच लाख रुपैँया जरिवानाको फैसला सुनाएको थियो ।
गत मंसिर २० गते दिउँसो साढे १ बजेतिर लमही नगरपालिका – ५ लमही गल्लीस्थित सुमन सुनारले सञ्चालन गरेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उदेश्यले गोली चलेको थियो ।
त्यो गोली प्रहार बाट पसलका कर्मचारी प्युठान नगरपालिका –५ का १८ बर्षीय दिपक सुनार घाइते हुनुभएको थियो । उहाँको चिउडो मुनीको छाला गोलीले छेडेको थियो । सामान्य उपचार पछि घटनाको दोस्रो दिन मंसिर २१ गते डिस्चार्ज भए सकेको प्रहरीले जनाएको छ ।
सुनचाँदी पसलमा सुनका गरगहनाहरु खरिद गर्न भनेर रा १ प २६४९ नम्बरको मोटरसाइकलमा चढेर गएका थिए । लेखराज आँफैले मंसिर १९ गते सुनारलाई फोन सम्पर्क गरि धेरै गरगहना किन्न शनिबार आउँदै छु भनेका थिए । गोली प्रहारको घटना पछि लेखराज मोटरसाइकल घटनास्थलमै छोडेर भागेका थिए ।


