२०८३ भाद्र ९ गते मङ्गलवार

एनपिएलको दोस्रो संस्करण आजदेखि सुरु हुँदै

काठ्माण्डौँ, १ मंसिर । एनपिएलको दोस्रो संस्करण त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार सुरु हुँदै छ । पहिलो संस्करण अत्यधिक रूपमा सफल भएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) समक्ष दोस्रो एनपिएल अझ बढी उत्कृष्ट गर्ने ठुलो चुनौती तेर्सिएको छ ।

क्यानका सचिव तथा प्रतियोगिता संयोजक पारस खड्काले पनि सोमबारदेखि करिब एक महिना हुने एनपिएललाई सफल बनाउने चुनौती स्विकार्दै सबै पक्षको साथ भएकाले सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

दोस्रो एनपिएलको सिङ्गल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मङ्सिर २७ गते उपाधि भिडन्त हुने छ । यस पटक कुल ३२ खेल हुने छन् । विगतकै टिमहरू च्याम्पियन जनकपुर बोल्ट्स, गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्ने छन् ।

दोस्रो एनपिएलमा ४० भन्दा बढी विदेशी आबद्ध भइसकेका छन् । सहभागी टिमहरूले खेलाडी मात्र होइन, विश्वका नामी प्रशिक्षकलाई पनि आबद्ध गरेर दोस्रो एनपिएलको आकर्षण बढाएका छन् । दोस्रो एनपिएलको पहिलो खेलमा सोमबार साँझ ४ बजे च्याम्पियन जनकपुर बोल्ट्सले काठमान्डु गोर्खाजको सामना गर्ने छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १ गते सोमवार
प्रतिक्रिया दिनुहोस