दाङ, ११ कात्तिक । दाङमा अबैध सालको काठसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले राप्ती गाउँपालिका–१ पुलचोकस्थित पूर्व–पश्चिम राजमार्गबाट अबैध सालको चिरान काठसहित दुई जनालाई पक्राउ गरेको हो ।
कार्तिक ३ गते बिहान करिब ८ बजे प्रहरीले चेकजाँचका क्रममा कालाकाटेबाट पाखापानीतर्फ जाँदै गरेको रा १ त २१२१ नम्बरको ट्याक्टरमा अबैध रुपमा ल्याइएको सालको चिरान काठ फेला परेको हो ।
ट्याक्टर चालक गढवा गाउँपालिका–१ कालाकाटे बस्ने ३९ वर्षीय विकाश घर्तिमगर र काठ खरिद गरी ल्याउने राप्ती गाउँपालिका–१ पाखापानी बस्ने ४३ वर्षीय डिल्लीराज गिरी पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

सालको चिरान काठ १४ थान (३८.८७ क्युफिट) जसको अनुमानित मूल्य ४८ हजार ५८७ बराबर रहेको रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई ट्याक्टर र काठसहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय लमही, दाङ पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


