दाङ, १६ असोज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न अपिल गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि २० गतेसम्म देशका खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना छ ।
प्राधिकरणले भारी वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट बच्न सबैलाई उच्च सतर्कताका लागि आग्रह गरेको हो । प्राधिकरणका प्रवक्ता उपसचिव शान्ति महतद्वारा जारी विज्ञप्तिमा वर्षा र बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिने र सो निर्णय पालना गराउने व्यवस्था गर्न सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई समेत आग्रह गरिएको छ ।
त्यस्तै, पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरुमा उच्च सतर्कता अपनाउन अपिल गरिएको छ। डुबान हुने वस्तीका बासिन्दाहरुले उँचो (अग्लो) र सुरक्षित स्थानबारे जानकारी लिने र अरुलाई पनि जानकारी दिने, आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जाने तयारी गर्न समेत आग्रह गरेको छ ।
प्राधिकरणले तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सार्वजनिक अपिल गरेको छ ।


