दाङ, १८ साउन । लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा आज भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ ।
महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । दाङ उपत्यकामा पनि अहिले बदली रहेको छ । उपत्यकाका केहि स्थानमा दिउँसोपख भारी वर्षाको संभावना रहेको छ । अहिले पनि देशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ ।
सबै प्रदेशका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, सुदूरपश्चिम र कोशी प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
यसैगरी, आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी तराई भूभागका धेरै स्थान तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
बागमती प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र आगामी केही दिन मधेश प्रदेश लगायत देशभर मनसुन थप सक्रिय हुने देखिएकाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।
कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


