दाङ, १७ साउन । दाङमा रगतको अभाव न्यूनीकरण गर्न नयाँ रक्तदाताको खोजी, रक्तदान तथा रक्तदाता उत्प्रेरणा कार्यक्रम गरिएको छ । शनिबार (आज) तुलसीपुर–१६ अन्तर्गत मानपुर र कोठरीमा सम्पन्न कार्यक्रम दाङ रेडक्रसको प्राविधिक सहयोग र तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा आयोजना गरिएको हो ।
मानपुर उपशाखाका अध्यक्ष जगदिश देवकोटाको अध्यक्षता तथा वडा अध्यक्ष शिबानन्द डाँगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ४ महिलासहित १४ जनाले रक्तदान गरेका छन् । जसमा ८ जना नयाँ रक्तदाता रहेका छन् ।
प्रमुख अतिथि डाँगीले रक्तदानजस्तो मानवीय कार्यमा स्थानीय सरकार सधैं साथमा रहने बताउनुभयो । उहाँले जनचेतना र उत्प्रेरणाको कमीका कारण मानिसहरू अझै रक्तदान गर्न हिच्किचाउने भएकाले यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
त्यस अवसरमा रेडक्रस दाङका उपमन्त्री बिमल केसी र जिल्ला सदस्य भीमलाल मरासिनीले रक्तदानको महत्व, आवश्यकता र फाइदाबारे जानकारी दिनुभयो । कार्यक्रममा वडा सदस्य गीता राणा, ससिधर पौडेललगायतले पनि आफ्ना विचार व्यक्त गर्नुभएको हो । कार्यक्रमको सञ्चालन उपशाखा सहसचिव गिरिराज डाँगीले गर्नुभएको हो ।


