२०८२ असार २५ गते बुधवार

राप्ती राजमार्गको तुलसीपुर क्षेत्रमा सडक सुधारकाे माग


दाङ, १६ असार ।
राप्ती राजमार्ग तुलसीपुर क्षेत्र सरोकार मञ्चले सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्र बहादुर बिष्टलाई सडक सुधार र आवश्यक समन्वयका लागि अपील गरेको छ। मञ्चले आज आयोजित कार्यक्रममा सडक डिभिजन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा तुलसीपुर क्षेत्रमा पर्ने विभिन्न सडकखण्डहरूमा खाल्डाखुल्डी, ट्राफिक संकेतको अभाव र अन्य समस्या रहेका कारण सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको उल्लेख छ। मञ्चले सडकको नियमित मर्मत, खाल्डा पुर्ने, ट्राफिक संकेत राख्ने र दुर्घटना न्यूनीकरणका लागि तत्काल पहल गर्न आग्रह गरेको छ। साथै, तुलसीपुर बजार क्षेत्रमा पर्ने सडकलाई विशेष प्राथमिकतामा राखेर सुधार गर्न माग गरिएको छ।

सदस्य सचिव चेतन रेग्मीका अनुसार सडकको अवस्थाले जनजीवन कष्टकर बनेको छ। ज्ञापनपत्र बुझ्दै प्रमुख बिष्टले समस्यालाई गम्भीर रूपमा लिएर समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयाे। तर, चालू आर्थिक वर्षमा सडक विस्तारको योजना नभएको र खाल्डा पुर्ने कामका लागि समेत बजेट अभाव रहेको बताउनुभयो। उहाँले राष्ट्रिय राजमार्ग २५ मिटरको हुनैपर्ने नीतिगत बाध्यता नरहेको र आवश्यकता अनुसार चौडाइ घटबढ गर्न सकिने जानकारी दिनुभयो।

मञ्चका अध्यक्ष नवराज लामीछानेले सडकको कमजोर अवस्थाले दुर्घटनाको जोखिम बढाएको भन्दै तत्काल सुधारका लागि जोडदार आग्रह गर्नुभयो।

कार्यक्रममा मञ्चका पदाधिकारीहरू दिपक कुमार आचार्य, डा. अरुण कुमार श्रेष्ठ, प्रलाद शाह र सूर्यप्रसाद पौडेलको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८२ असार १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस