सल्यान, १० असार ।
सल्यानको कपुरकोट गाउँपालिकाले आज आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १७औँ गाउँसभा अध्यक्ष दुर्गा बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको हो ।
गाउँपालिकाले ४२ करोड बढीको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले आगामी वर्षको बजेट सार्वजनिक गर्दै कुल ४२ करोड ६८ लाख ८८ हजार बराबरको बजेट ल्याएको बताउनुभयो ।
कपुरकोटले चालुवर्षभन्दा आगामी आर्थिक वर्षमा बजेटको आकार बढाएको हो । कपुरकोट गाउँपालिकाले चालु आर्थिक वर्षमा ३८ करोड ३२ लाख ८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
आजको अधिवेशनमा न्यायिक समितिको प्रतिवेदन कार्यपालिका सदस्य राधिका यरीले प्रस्तुत गर्नुभयो । त्यस्तै, आर्थिक विधेयक, विनियोजन विधेयक, वार्षिक विकास योजना तथा कार्यक्रम समेटिएको एकीकृत बजेट योजना उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक प्रकाश भण्डारीले पेस गर्नुभयो ।
सभाकै अवसरमा उत्कृष्ट कार्य प्रदर्शन गर्ने शिक्षक तथा कर्मचारीलाई प्रमुख प्रशासनिक अधिकृत दिनेश पौडेलले पुरस्कृत गर्नुभएको गाउँपालिकाले जनाएको छ ।


