२०८२ असार २५ गते बुधवार

पश्चिम नेपालमा गएरातीदेखि ठूलो वर्षा, नदि तटिय क्षेत्रमा सावधानी अपनाउन आग्रह


दाङ, ६ असार । पश्चिमका केही ठाउँमा गएरातिदेखि नै ठूलो पानी परेको छ । दाङ, रोल्पा, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट लगायतका ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ठूलो पानी परेपछि बाँके र बर्दियामा पर्ने बबई र कर्णाली बाढी आएको छ । बर्दियाको दौलतपुर, बर्गादही, राम्भापुर, रानीजरुवा र कुम्रा गाउँमा ठूलो पानी परेकाले ती क्षेत्रका मुख्य नदी लगायत ती क्षेत्र भई बहने खोलाहरूमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

दाङ, बाँके लगायत आसपासको क्षेत्रहरुमा मध्यमदेखि ठूलो पानी परेकाले त्यस क्षेत्रका नदी र खोला आसपासमा सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

यसैबिच नारायणगढ–बुटवल सडकखण्ड फेरि बन्द भएको छ । हिजो बेलुकी एकतर्फी खुलेको सडक रातिदेखि दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । प्रहरीका अनुसार गएराति विनयी खोलामा बाढीले डाइभर्सनसँगै एउटा बस पनि बगाएको छ ।

काठमाण्डौबाट नेपालगञ्जको लागि छुटेको बस डाइभर्सनसँगै थोरै बगेको र यात्रुलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । दाउन्ने र दुम्कीबास क्षेत्रमा पानी पर्नेबित्तिकै सडक हिलो र चिप्लो भएर जाम र दुर्घटनाको जोखिम भएकोले वैकल्पिक रुटको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस