२०८३ असार ७ गते आइतवार

७८ वर्षिय पम्फीले छोरी ज्वाईलाई गरिन् मिर्गौला दान


दाङ, ३० जेठ । ७८ वर्षीया पम्फि सुनारले आफ्ना ३४ वर्षीय ज्वाँई प्रकाश सुनारलाई मिर्गौला दान गरेर संसारकै उत्कृष्ट सासुआमाको उदाहरण पेश गर्नुभएको छ । दाङको दंगिशरण–५ की ७८ वर्षिय पम्फी सुनारले एक वर्षअघि छोरी ज्वाँई प्रकाशलाई मिर्गौला दान गर्नुभएको हो ।

उहाँ हाल तुलसीपुर उपमहानगरपालिका–८ दोघरेमा सञ्चालित प्रातःकालीन शारीरिक व्यायाम र जुम्बा डान्समा नियमित सहभागी हुँदै स्वस्थ जीवनशैली अपनाउँदै आइरहनुभएको छ ।

पम्फी सुनारका एक छोरा थिए, तर केही वर्षअघि मोटरसाइकल दुर्घटनामा उनको निधन भएको थियो । घोराहीबाट घर फर्कने क्रममा सेवारा खोलामा वर्षाको समयमा मोटरसाइकल चिप्लिएर मृत्यु भएको थियो ।

पम्फी सुनारको सहारा उहाँका छोरीहरू हुन्, जसमा माइली छोरी गीता नेपालीले हाल आमा साथमा राखेर हेरचाह गरिरहेकी छिन् ।

छोराको मृत्यु र ज्वाईं प्रकाश सुनारको दुबै मिर्गौला फेल भएपछि परिवारमा ठूलो संकट आएको थियो । काठमाडौं कलंकीमा बस्दै आएका प्रकाश हाल नियमित अस्पतालको निगरानीमा छन् । पाँच वर्षदेखि सुनचाँदी पसलमा काम गर्दै आएका उनी हाल उपचारको क्रममा काठमाडौंमा छन् ।

‘मेरो ज्वाईंको अवस्था गम्भीर भयो भने मेरो सबैथोक गुम्छ ।’ पम्फिले भन्नुभयो–‘छोरा त गुमाएँ, अब ज्वाईंको जीवन बचाउन सके जीवनको सार्थकता हुनेछ भन्ने सोचेर मिर्गौला दिएँ ।’

उहाँ बिहान ५ देखि ६ बजेसम्म व्यायाम, प्राणायाम र जुम्बा डान्स गरेर आफ्नो स्वास्थ्यलाई सक्रिय राख्नुभएको छ । ‘म स्वस्थ छु, म अझ धेरै वर्ष बाँच्न सक्छु ।’ उहाँले मुस्कानसहित भन्नुभयो ।

डाक्टर किशोर खत्रीले सुरु गरेको स्वास्थ्य अभियानप्रति उहाँले आभार व्यक्त गर्नुभएको छ । साथै उहाँले ज्वाईंको उपचारका लागि सहयोगको अपिल पनि गर्नुभएको छ ।

यदि तपाईं पनि पम्फि सुनारजस्तो मातृ माया र मानवता देखाउने यो उदाहरणीय कार्यमा साथ दिन चाहनुहुन्छ भने, सहयोगका लागि परिवारका सदस्य गीता नेपालीलाई ९८४८०६८७२१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस