
रोल्पा, १९ जेठ । रोल्पाको एक विद्यालयमा एक लाख बढीको अक्षयकोष स्थापना गरिएको छ । सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ५ रिम निवासी अशोक कुमार बुढा, मधुसुदन बुढा, हरिप्रकाश बुढा र उहाँका भतिज योगेश बुढाले रोल्पाको माडी गाउँपालिका–३ खाराबाङस्थित जनता आधारभूत विद्यालयमा ‘शेर–गंगा–तुलसा अक्षयकोष’ स्थापना गर्नुभएको हो ।
स्वर्गिय बुवा शेर बहादुर बुढा, आमा तुलसा बुढा र गंगा बुढाको सम्झनामा विद्यालयमा १ लाख २० हजार बराबरको अक्षयकोष स्थापना गरिएको हो । यस विद्यालयमा स्वर्गिय शेर बहादुर बुढाले अध्यापन गराउनुभएको थियो ।
अक्षयकोषको वार्षिक ब्याजबाट प्राप्त रकमले विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिनुका साथै सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्ने गरिएको छ ।
सोहि अक्षयकोषबाट सोमबार सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरु र जेहेन्दार विद्यार्थीलाई पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर घर्तीको अध्यक्षतामा तथा वडा नम्बर ३ का अध्यक्ष बलबहादुर बुढाको प्रमुख आतिथ्यता एवं स्वर्गिय शेरबहादुर बुढाका भाइ भद्र सिं बुढाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा सामाजिक क्षेत्रमा योगदान पुर्याएका चारजना प्रतिष्ठित व्यक्तित्वलाई सम्मान गरिएको छ । विद्यालयका अनुसार पूर्व प्रधानाध्यापक तथा संस्थापक शिवराज घर्ती मगर, संस्थापक प्रधानाध्यापक कर्ण बुढा, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलबहादुर घर्ती र संस्थापक विद्यालय व्यवस्थापन समितिका सदस्य इन्द्रबहादुर घर्तीलाई सम्मान गरिएको हो ।

यस्तै गरिब तथा जेहेन्दार ३२ जना विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।
कोष स्थापना गरेकोमा विद्यालयका प्रधानाध्यापक खर्कबहादुर बुढा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर घर्तीले अशोक कुमार बुढा, मधुसूदन बुढा र हरि प्रकाश बुढालाई धन्यवाद संगै प्रमाणप्रत्रसहित सम्मान गर्नुभयो ।
विद्यालयका सह–प्रधानाध्यापक यमलाल खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक खर्कबहादुर बुढाले गर्नु भएको हो ।