
दाङ, १५ जेठ । नेपाल प्रेस युनियनको ३४औँ स्थापना दिवसको अवसरमा दाङमा पत्रकारहरूको स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रेस युनियन दाङ शाखाको आयोजनामा भएको कार्यक्रममा ७५ जना पत्रकार तथा सञ्चारकर्मीहरूको स्वास्थ्य परीक्षण गरिएको हो भने ८ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पत्रकारहरू सबल र स्वस्थ भए मात्र लोकतन्त्र र गणतन्त्र सबल हुने उल्लेख गर्नुभयो ।
उहाँले प्रेस युनियनलाई परिवर्तनको संवाहक र लोकतन्त्र स्थापनाको आधार भएको संस्था पनि बताउनुभयो । स्वास्थ्य परीक्षण कार्यक्रम स्वास्थ्य कार्यालय दाङ, राप्ती प्रादेशिक अस्पताल र रक्तसञ्चार केन्द्र तुलसीपुरको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।
राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले पत्रकारहरूका लागि आगामी दिनमा पनि निरन्तर स्वास्थ्य सेवा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
त्यसैगरी, स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले हाल ७० प्रतिशत नागरिकमा मुटु, मधुमेह, उच्च रक्तचाप तथा मृगौलासम्बन्धी समस्या देखिएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतम, प्रेस चौतारी अध्यक्ष सुधासुमन ढकाललगायतले प्रेस युनियनको भूमिका र योगदानको चर्चा गर्नुभएको हो ।
कार्यक्रममा स्वागत मन्तव्य गोपाल शर्मा भट्टराईले राख्नुभएको थियो भने धन्यवाद ज्ञापन चेतन रेग्मीले गर्नुभयो। सहजीकरण उमा भण्डारीले गर्नुभएको थियो ।