२०८२ असार ८ गते सोमवार

दाङसहित तराईका जिल्लामा गर्मी बढ्दै


दाङ, २९ वैशाख । दाङसहित तराईका जिल्लामा गर्मी बढेको छ । जल तथा मौसम फिल्ड कार्यालय घोराहीका अनुसार अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सीयस पुगेको छ ।

प्रि–मनसुनको अवस्था रहेको र दुई तीन दिनयता पर्याप्त वर्षा नभएका कारण दाङ उपत्यकासहित देशका विभिन्न भेगमा तापक्रम बढेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

उहाँका अनुसार अहिलेको तापक्रम वृद्धि मनसुन शुरू हुनुपूर्वको गतिविधि हो । यसलाई प्रि–मनसुनी गतिविधिकै रुपमा लिइन्छ । तापक्रम अझै बढ्दै जाने उहाँको भनाइ छ ।

यसैबीच, देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

आज पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ ।

आज दिउँसो कोशी प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमाली भूभागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मधेश र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ ।

प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस