
वैज्ञानिक हिसाबले साइथिया स्पाइनुलोसा, नेपालीमा रुख उन्यु तथा स्थानिय रुपमा रुख डउरे भनेर चिनिने दुर्लभ विरुवा कर्णाली एवं पश्चिम नेपालमा पहिलो पटक भेटिएको छ ।
वनस्पित अनुसन्धान केन्द्र सल्यानले सल्यानकै दार्मा गा पा र कपुरकोट गा पा का फरक फरक दुइ सामुदायिक वनमा सानो संख्यामा रुख उन्यु भेटिएको हो ।
नेपालमा पाइने साइथियाका चार प्रजाती साइटिसमा सुचिकृत छन्। ती मध्ये दुइलाइ संकटापन्न, एउटालाइ दुर्लभ र एउटा हराउँदै गइरहेकोमा मूल्याङ्कन गरिएको छ। उपस्थिति र फैलावटको आधारमा साइथिया स्पाइनुलोसा लाइ लिस्ट कन्सर्न प्रजाति मानिएको छ।
फरक फरक देशहरुले फरक फरक सूचीकृत गरे अनुसार साइथिया स्पाइनुलोसालाई कतै दुर्लभ त कतै थ्रेटन अनि कतै लिस्ट कन्सर्न प्रजाति मानिन्छ। नेपालले भने लिस्ट कन्सर्नमा राखेको छ ।
देश अनुसार बासस्थान पनि थोरै फरक फरक देखिन्छ । नेपालमा यसको उपस्थिति ७५० मिटर देखि २००० मिटर पूर्व र मध्य नेपाल भनिएको छ भने ताइवानमा ३०० मिटरदेखि २५०० मिटरको उचाइमा घना, गाढा जंगलहरूमा पाइन्छ । अब भने यो प्रजाती पूर्व मध्य सँगै पश्चिम नेपालमा पनि रिपोर्ट भएको छ ।
काँडेदार फर्न रूख भनेर चिनिने साइथिया स्पिनुलोसाको परम्परागत औषधि, खाना र सजावट सहित विभिन्न प्रयोगहरू छन्। यसलाई परम्परागत औषधिमा छाला, मिर्गौला र आँखाको संक्रमणको उपचारको लागि र क्यान्सर र मधुमेह तथा क्षय रोगहरूको लागि पनि प्रयोग गरिन्छ। थप रूपमा, यसको पातहरू अचार र तरकारीको लागि प्रयोग गर्न सकिन्छ, र डाँठको गुदि खान योग्य र स्टार्च युक्त हुन्छ।
साइथिया स्पिनुलोसालाई सजावटी बोटको रूपमा पनि मूल्यवान मानिन्छ । वनस्पित अनुसन्धान केन्द्र सल्यानले रुख उन्यु लगायत सल्यान र आसपास पाइने दुर्लभ र संकटापन्न विरुवाहरु काकरसिङी, वन चाँप, सुनाखरी, टटेलो लगायतको संरक्षणका लागि सचेतना अभियान तथा सामुदायिक वनमा पुन:रोपणको काम पनि गरिरहेको छ ।